Sun. May 19th, 2024

रे टेलिभिजन तेस्रो वर्षमा प्रवेश

भिओके समाचार/काठमाण्डू, २०८१ वैशाख १९ गते बुधबार । रे टेलिभिजन एचडीले औपचारिक रुपमा नियमित प्रसारण सुभारम्भ गरेको आज २ बर्ष पुरा गरी तेस्रो बर्षमा प्रवेश गरेको छ । २०७९ साल बैशाख १८ गते तदनुसार १ मे सन् २०२२ का दिन अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर रे टेलिभिजनले औपचारिक प्रसारण शुभारम्भ गरेको हो ।

२०७९ साल बैशाख १८ गते तदनुसार १ मे सन् २०२२ का दिन अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर औपचारिक प्रसारण शुभारम्भ गरेको रे टेलिभिजन आज प्रसारणको तेस्रोे वार्षिक उत्सव मनाउँदै छ ।

सुचना र समाचारको किरणको रुपमा अघि बढिरहेको रे टेलिभिजनले नियमित प्रसारणसँगै समाचार, सुचना, जानकारी र विभिन्न मनोरञ्जनात्मक कार्यक्रम तथा सामग्रीहरु प्रसारण गर्दै आएको छ ।

औपचारिक प्रशारणसँगै रे टेलिभिजनले मुख्य समाचार बुलेटिनको रुपमा बिहान ८ बजे, मध्यान्ह १२ बजे, दिउँसो ४ बजे र राती ८ बजे राष्ट्रिय, अन्तराष्ट्रिय, आर्थिक, खेलकुद र मौसम लगायतका विभिन्न समाचार तथा रिपोर्टहरु समेटेर प्रसारण गर्दै आएको छ ।

यसैगरी बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ६ बजे मुख्य समाचारका अपडेटहरु समेटेर रे न्यूज अपडेट प्रसारण गर्दै आएको छ ।

साथै ताजा अपडेटका लागि ब्रेकिङ न्युज, स्र्कोलिङ न्युज, शीर्ष समाचार, टप ५ न्यूज जस्ता विभिन्न स्वरुपमा सुचना र विभिन्न समयमा देशमा भएका महत्वपूर्ण घटना, दुर्घटना, विपद्हरु साथै महत्वपुर्ण अवसर, चाडपर्व, उत्सव, मेला, सभा समारोह जस्ता विषयहरुमा प्रत्यक्ष रिर्पोटिङ समेत गर्दै आएको छ ।

अन्तराष्ट्रिय क्षेत्रमा भएगरेका विभिन्न खाले घटनाहरुका बारेमा पनि खोज अध्ययन गर्नुका साथै विभिन्न अन्तराष्ट्रिय समाचार संस्थाहरुसँग समन्वय गरि अन्तराष्ट्रिय समाचारहरुको विस्तृत जानकारी र सुचनामुलक रिर्पोटहरु उत्पादन र प्रसारण समेत गर्दै आएको छ ।

यसैगरी देश र जनतासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न घटनाहरुका बारेमा सम्वन्धित क्षेत्रमा नै पुगेर प्रत्यक्ष प्रसारणहरु समेत गरिरहेको छ ।

यस टेलिभिजनले सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, शैक्षिक, पर्यटकीय, भौतिक पूर्वाधार निर्माण लगायतका विभिन्न विषयवस्तुहरुका बारेमा पनि डकुमेन्ट्री उत्पादन गरि प्रसारण गर्दै आएको छ ।

रे टेलिभिजनले नियमित प्रसारणकोे दुई बर्षको अवधिमा विभिन्न समसामयिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, कला, साहित्य, समाज, जीवन दर्शन, मनोरञ्जन, कृषि लगायतका बहुआयामिक क्षेत्रमा विभिन्न खाले कार्यक्रमहरु उत्पादन गरी प्रसारणलाई निरन्तरता दिएको छ ।

रे टेलिभिजनका रे सम्वाद, समालोच, हाम्रो कृषि हाम्रो भविष्य, दि इन्स्पाईरिङ स्टोरी, म र मेरो नेपाल, हेल्थ केयर, नाट्यशाला, लोकमञ्च, आर्थिक बहस, दि वल्र्ड दिज वीक, विज्ञका विचार, जनचासो, करिअर गाइड, नृत्य वाटिका, आइटी सेरिज जस्ता कार्यक्रमहरुलाई दर्शकले रुचाएका छन् ।

रे टेभिजिनमा कार्यरत कर्मचारीको बृत्ति विकास, क्षमता अभिवृद्धि र पुनरताजकीकरणका लागि यस टेलिभिजनले विभिन्न विज्ञहरुसँग छलफल, तालिम तथा प्रशिक्षणहरु, राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रको भ्रमण, गोष्ठी, सेमिनार र मनोरञ्जनात्मक कार्यक्रमहरु समेत आयोजना गर्दै आएको छ ।

रे टेलिभिजनले उत्पादन र प्रसारण गरेका समाचार र कार्यक्रमहरुलाई आम दर्शक, कार्यक्रमका अतिथि, विज्ञापनदाता, शुभचिन्तक लगायतले गर्नुभएको अपार माया र हौसला टेलिभिजनको सबैभन्दा ठूलो शक्ति र मार्ग बनेको रे टेलिभिजनका अध्यक्ष प्रकाश बाबु पौडेलले बताउनु भएको छ ।

अध्यक्ष पौडेलका अनुसार रे टेलिभिजनले आफ्नो लोगोलाई विश्व प्रसिद्ध मनास्लु हिमाल र विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोसम्म पुर्याउन सफल भएको छ । सर्वोच्च शिखर सगरमाथामा रे टेलिभिजनको लोगो पुग्नुलाई रे टेलिभिजनले उच्च लक्ष्यको प्रतिविम्बको रुपमा लिएको छ । सुचना र समाचारको किरण छर्दै जनतालाई सुुसुचित गरेर असल नागरिक र समृद्ध नेपाल निर्माणमा टेवा पुर्याउन सकेमा मात्रै टेलिभिजनले समेत वास्तविक उचाई र शिखर चुम्न सक्नेछ भन्ने रे टेलिभिजनको विश्वास रहेको छ । वितेका दिनहरुमा जस्तै आगामी दिनहरुमा पनि रे टेलिभिजनले आम दर्शक, विज्ञापनदाता, शुभेच्छुक, शुभचिन्तक र विज्ञको माया, सहयोग, सुझाव र सल्लाहको अपेक्षा गरेको छ ।

Facebook Comments