Sat. May 4th, 2024

चीनमा आँधीका कारण ११ जना बेपत्ता, दशौं हजार मानिसलाई सुरक्षित स्थानमा सारियो

काठमाण्डू, २०८१ बैशाख १० गते सोमबार ।  दक्षिण चीनको क्वाङतोङ प्रान्तमा आएको आँधीबेहरीका कारण एघार जना बेपत्ता भएका छन् ।

चाईना मिडिया ग्रुपले दशौँ हजार नागरिकलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको जनाएको छ । पछिल्लो समयमा क्वाङतोङको दक्षिणी भागमा अत्यधिक वर्षा भएकाले नदीहरूको सतह बढ्दा बाढीको त्रास अझ बढेको छ । यस्तो आँधीबेहरी एक सय वर्षमा एक पटक मात्र हुने स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

क्वाङतोङ प्रान्तका धेरै भागमा लगातारको डरलाग्दो वर्षाले ११ जना बेपत्ता भएको स्थानीय आपत्कालीन व्यवस्थापन विभागलाई उद्धृत गर्दै राज्य नियन्त्रित समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । बाढीको जोखिमबाट बचाउन ५३ हजारभन्दा बढी मानिसलाई स्थानान्तरण गरिएको एजेन्सीले जनाएको छ । तीमध्ये ४५ हजारभन्दा बढीलाई उत्तरी क्वाङतोङको किङयुआन शहरबाट विस्थापित गरिएको थियो । उक्त सहर फराकिलो नदी डेल्टामा सहायक नदी पेइ नदीको किनारमा फैलिएको छ ।

आज सोमबार पनि भारी वर्षा जारी रहने अनुमान गरिएको छ । मौसम विज्ञान विभागका अधिकारीहरूले क्वाङतोङको तटीय पानीमा आँधीबेहरी र तीव्र हावा हङकङ र सन्चन लगायत प्रमुख सहरहरूको सिमानामा रहेको सामुद्रीक क्षेत्रमा रहेको पूर्वानुमान गरेका छन् । फुचियान, कुई चौ र क्वाङ्सीलगायत छिमेकी प्रान्तहरू पनि ‘अल्पकालीन भारी वर्षा’ बाट प्रभावित हुने राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ । क्वाङतोङ चीनको सघन जनसङ्ख्या भएको प्रान्त हो । यहाँ करिब १२ करोड ७० लाख मानिसहरुको बसोबास रहेको छ ।

Facebook Comments