Sat. May 4th, 2024

एशियन रागमार्गः रुख कटानसँगै पुल र कल्भर्ट निर्माण शुरू

 झापा, २०८१ बैशाख ९ गते आईतबार । पूर्व-पश्चिम एशियन राजमार्ग अन्तर्गत रुख कटानसँगै पुल र कल्भर्ट निर्माण सुरु भएको छ । एसियाली विकास बैंक आयोजना दमकका योजना प्रमुख सुनिलबाबु पन्तले काँकरभिट्टा-सीतापुरी पूर्वी खण्डको ४५ किलोमिटर क्षेत्रमा सो काम भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल कमल र केर्खा खोलामा पुलको पायल फाउण्डेसन गर्ने, सडकको चौडाइका लागि माटो भर्ने र कल्र्भट बनाउने काम धमाधम भइरहेको छ सडक किनारमा रहेका चार हजार सात सय ३० रुखमध्ये तीन हजार छ सय रुखसमेत कटान गरिसकिएको छ ।

दुई लेनको सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण सुरु गरिएको एशियन राजमार्गको सो सडक खण्डमा एक सय ४० वटा कल्भर्ट र २१ वटा पुल निर्माण हुने राससलाई जानकारी दिनुभयो ।

एशियन राजमार्ग निर्माणका लागि काँकरभिट्टा–सीतापुरीलाई पूर्वी खण्ड र सीतापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ । उहाँका अनुसार पूर्वी खण्डको ठेक्का पाएको एभ्रासकन कालीका जेभीले तीव्र रुपमा काम गरिरहेको छ ।
“काम तीव्र रुपमा भइरहेको छ”, उहाँले भन्नुभयो, “रुख काट्ने कार्य अन्तिम चरणमा पुगिसक्यो । अब पुल र कल्र्भटको काम पनि द्रतगतिमा भइरहेको छ ।”

एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएको काँकरभिठ्ठदेखि केर्खासम्मको सडक करिब रु १० अर्बको लगानीमा सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिएको योजना प्रमुख पन्तले बताउनुभयो ।

एसिया महादेशका ३२ वटा मुलुकलाई जोड्ने ‘महान एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेची पुल निर्माणसँगै संरचना पूर्णरुपमा निर्माण भइसकेको छ । फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना न्यूनीकरण हुने, पूर्वी नाकाबाटस्थल मार्ग हुँदै आउने पर्यटकको सङ्ख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने जनअपेक्षा रहेको छ ।

उहाँले एशियन हाइवेमा पर्ने ठूला साना नदीमा लगाइएका पुराना पुललाई यथावत् राखेर त्यसैमा दुई लेनका पुल थप गरिने जानकारी दिनुभयो । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु भएको सडक अन्तर्राष्ट्रिय मापदण्डको हुनेछ । काँकरभिठ्ठ-लौकहीसम्मको ९६ किलोमिटर सडक निर्माण पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ । रासस

Facebook Comments