Tue. Apr 30th, 2024

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

हङकङ, २०८१ वैशाख ४ गते मंगलबार । चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार भएको छ । वृद्धि र बलियो मागलाई उत्तेजित गर्ने नीतिहरूले आर्थिक वृद्धिलाई मद्दत गरेको सरकारले जनाएको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा जनवरी-मार्चमा वार्षिक आधारमा पाँच दशमलव तीन प्रतिशतले आर्थिक वृद्धि भएको छ । विश्लेषकहरूले चार दशमलव आठ प्रतिशतले वृद्धि हुने अनुमान गरेका थिए । अघिल्लो त्रैमासिकको तुलनामा अर्थतन्त्र एक दशमलव छ प्रतिशतले बढेको छ ।

चीनको अर्थतन्त्रले कोभिड-१९ महामारीबाट सुधारमा आउन सङ्घर्ष गर्नुपरेको छ । कोभिड-१९ महामारीका कारण मागमा मन्दी र रियल स्टेटमा देखिएको सङ्कटका कारण आर्थिक विकास प्रभावित भएको थियो ।

चीनले आफ्नो निर्यात मार्चमा अघिल्लो वर्षको तुलनामा सात दशमलव पाँच प्रतिशतले घटेको र आयात पनि कमजोर भएको बताएको थियो । मुद्रास्फीतिका कारण रियल स्टेट क्षेत्रमा देखिएको सङ्कटले सुस्त मागको अपस्फीति दबाबलाई प्रतिबिम्बित गर्दछ ।

पहिलो त्रैमासिकका लागि औद्योगिक उत्पादन गत वर्षको तुलनामा छ दशमलव एक प्रतिशतले माथि रहेको र खुद्रा बिक्री चार दशमलव सात प्रतिशतको वार्षिक आधारमा बढेको छ । कारखाना र उपकरणमा स्थिर लगानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा चार दशमलव पाँच प्रतिशतले बढेको छ ।

अक्सफोर्ड इकोनमिक्सका चिनियाँ अर्थशास्त्री लुइस लूका अनुसार जनवरी-मार्चमा मजबुत वृद्धिलाई ‘व्यापक उत्पादनको राम्रो प्रदर्शन ले सहयोग गरेको छ भने चन्द्र नववर्षको बिदा र नीतिहरूका कारण उत्सवमा बढेको घरेलु खर्चले लगानीलाई बढाउन सहयोग गरेको छ ।

बेइजिङले अर्थतन्त्रलाई बढाउन चाहेकाले नीति निर्माताहरूले वित्तीय र मौद्रिक नीति उपायहरूको एउटा शृङ्खला जारी गरेका छन् । चीनले सन् २०२४ का लागि करिब पाँच प्रतिशतको महत्त्वाकांक्षी कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि लक्ष्य निर्धारण गरेको छ ।

यस्तो बलियो वृद्धिले सामान्यतया क्षेत्रभर सेयर मूल्य उच्च पार्ने भए पनि मङ्गलबार वाल स्ट्रिटमा स्टकहरू पछि हटेपछि एसियाली सेयरहरू तीव्ररूपमा घटेको छ ।एपी

Facebook Comments