Thu. Apr 18th, 2024

आज अक्षय तृतीया, जौको सातु र सर्वत खाने दिन

काठमाडौं, २०७७ बैशाक १४ गते आईतबार

वैशाख शुक्ल तृतीया अर्थात आज अक्षय तृतीया । भुटेको जौको पीठो (सातु) र सक्खर पानीको सर्वत पिएर अक्षय तृतीया पर्व मनाइँदैछ।

पौराणिक मान्यता अनुसार आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।

आजका दिन सदाशिव भगवान महादेव र हिमालयकी पुत्री देवी पार्वतीका बीचमा विवाह भएको मानिन्छ । यसैगरी आजैका दिन चार युग मध्ये सत्य र त्रेता युगको सुरुवात भएको मानिन्छ । यो तिथि एक स्वयं सिद्ध मुहूर्त हो । यो कुनै पनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो । वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गर्नुभएको धार्मिक प्रमाण छ ।

अक्षय तृतियाको दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । आज जौको सातुमा सक्खर, चिनी, घिउ, मह मिसाएर सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने धार्मिक विश्वासका कारण शातु सर्वत दान गर्ने र खाने चलन छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुसी हुनुहुने धार्मिक विश्वास छ ।

अक्षय तृतीयाका दिनमा निराहार व्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने मत्स्य पुराणमा वर्णन गरिएको छ ।

भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।

अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म पनि भएको थियो । यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ ।

Facebook Comments