Thu. May 2nd, 2024

मुन्दुम पदमार्गको प्रबद्र्धन गर्न पर्यटकीय क्षेत्र चखेवामा महोत्सव शुरु   

नेपाल सरकारको घुम्नै पर्ने एक सय गन्तव्यमा पर्न सफल भोजपुरको मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न महोत्सव शुरु भएको छ ।

भोजपुर,२०८१ वैशाख २ गते आईतबार ।  नेपाल सरकारको घुम्नै पर्ने एक सय गन्तव्यमा पर्न सफल भोजपुरको मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न महोत्सव शुरु भएको छ । यो क्षेत्रको विकाससँगै प्रवद्र्धन गर्ने लक्ष्यले नयाँ वर्षको अवसरमा ‘कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव सञ्चालन गरिएको हो ।

मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ गाउँपालिका-४ को पर्यटकीय क्षेत्र चखेवा भञ्याङमा महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय परिकारसँगै राडीपाखीलगायतको प्रर्दशनी राखिएको आयोजक चखेवा बजार तथा सहरीकरण व्यवस्थापन समितिले जनाएको छ ।

महोत्सवमा पयर्टकलाई लक्षित गरेर स्थानीय विभिन्न जातजातिको संस्कार, संस्कृतिसँगै झाँकी प्रर्दशन गरिएको समितिका अध्यक्ष आईकुमार राईले बताउनुभयो । महोत्सवमा जैविक(अग्र्यानिक) खानाका परिकार तथा प्रर्दशनी राखिएको उहाँको भनाइ छ । पर्यटकलाई लक्षित गरेर कोदो, फापर, भुटेको मकै, गुन्द्रुकसँगै स्थानीयस्तरमा पालिएका भेडा, सुँगुर, कुखुरालगायतको परिकार रहने अध्यक्ष राईको भनाइ छ ।

“पर्यटकलाई लक्षित गरेर स्थानीय उत्पादन तथा परिकारलाई प्राथमिकता दिएका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “राडीपाखीसँगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने खालका स्थानीय अग्र्यानिक परिकार राखेका छौँ । महोत्सव अवधिभर हामीले सिसाजन्य सामग्रीको प्रयोगमा रोक लगाएका छौँ ।”

महोत्सवमा स्थानीय विभिन्न जातजातिको संस्कार, संस्कृतिसँगै झाँकी प्रदर्शनसमेत गरिएको छ । कृषि, पर्यटन तथा स्थानीय संस्कार, संस्कृतिको विकास तथा प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । स्थानीय उत्पादनको बजारीकरणका लागि महोत्सवमार्फत टेवा पुग्ने उहाँको भनाइ छ । “गाउँपालिकाले कृषि र पर्यटनको विकासमा जोड दिएको छ”, उपाध्यक्ष राईले भन्नुभयो, “महोत्सवमार्फत यहाँका सम्भावनाको उजागरसँगै कृषि उत्पादनहरुको बजारीकरणमा जोड दिएका छौँ । यसले यहाँको सम्पूर्ण क्षेत्रको विकासमा टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ ।”

मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ गाउँपालिका( को पर्यटकीय क्षेत्र चखेवा भञ्याङमा शनिबारबाट शुरु भएको महोत्सव यही वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ । टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा महोत्सव सञ्चालन गरिएको हो । पर्यटकीय सम्पदाहरुको संरक्षण तथा विकास गर्न गाउँपालिकाको रु १० लाख र आयोजक चखेवा बजार व्यवस्थापन समितिको रु तीन लाख गरी रु १३ लाख लागतमा महोत्सव आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिनुभयो ।

यहाँको कृषि र पर्यटन क्षेत्रको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । ‘कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार’ भन्ने मुल नाराका साथ यहाँका विकासका गतिविधि अघि बढाएको अध्यक्ष बस्नेतको भनाइ छ । “यहाँको कृषि र पर्यटन क्षेत्रको विकासका लागि महोत्सवको आयोजना गरेका हौँ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “महोत्सवले चखेवासँगै मुन्दुम पदमार्गको प्रचार प्रचारमा थप टेवा पुग्छ भन्ने हाम्रो लक्ष्य हो ।”

टेम्केमैयुङ पर्यटन तथा कृषिको धेरै सम्भावना बोकेको गाउँपालिका रहेकोले महोत्सवले देश, विदेशसम्म सन्देश पुग्ने कार्यक्रमका प्रमुख अथिति कोशी प्रदेश सभा सांसद विनोद बान्तावाले बताउनुभयो । “टेम्केमैयुङ कृषि र पर्यटनको राम्रो सम्भावना बोकेको गाउँपालिका हो”, सांसद बान्तावाले भन्नुभयो, “महोत्सवले यो स्थानको देश, विदेशसम्म प्रचार हुन्छ । महोत्सवले यहाँको विकासमा ठूलो टेवा पुग्ने देखिन्छ ।”

राससका अनुसार  महोत्सव अवधिभर मुन्दुम पदमार्गको वृतचित्र प्रदर्शनी, सांस्कृतिक झाँकी प्रदर्शन, बाघखोरबाट चखेवासम्म मुन्दुम दौड, कविता बाचन प्रतियोगिता तथा विभिन्न कलाकारहरुको प्रस्तृति रहने आयोजकले जनाएको छ । महोत्सवमा स्टलहरुको प्रदर्शनी भने २५ गतेसम्म रहने पर्यटन क्षेत्रका विज्ञ विवेक कुलुङले बताउनुभयो ।

Facebook Comments