Thu. May 2nd, 2024

‘मुख्यमन्त्री कार्कीले अविलम्ब राजीनामा दिनुपर्छ’   

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री केदार कार्कीले अविलम्ब राजीनामा दिनुपर्ने बताउनुभएको छ ।         

मोरङ, २०८० चैत २७ गते मंगलबार । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री केदार कार्कीले अविलम्ब राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

कोशी प्रदेशसभामा एमालेका प्रमुख सचेतक रेवतीरण भण्डारीले प्रदेशसभा सचिवालयमा आज आयोजित पत्रकार सम्मेलनमा यही चैत २६ गते प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष ५२ प्रदेशसभा सदस्यले समर्थन फिर्ता लिएको पत्र बुझाएकाले मुख्यमन्त्री कार्कीले अविलम्ब राजीनामा दिनुपर्ने बताउनुभयो । नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम समर्थन फिर्ता लिएपछि चैत २६ देखि चैत ३० गतेभित्र वर्तमान कोशी सरकारले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको उहाँले उल्लेख गर्नुभयो ।

राससका अनुसार  प्रमुख सचेतक भण्डारीले मुख्यमन्त्री कार्कीलाई ३० दिनभन्दा अगाडि नै संसदीय प्रक्रियामार्फत राजीनामा दिनसमेत आग्रह गर्नुभयो । उहाँले मुख्यमन्त्री कार्कीलाई आजदेखि नयाँ कार्यक्रम स्वीकृत नगर्न, पुराना कार्यक्रम हटाउने वा विस्थापित नगर्न, अब बन्ने प्रदेश सरकारलाई प्रभावित गर्ने नीतिगत निर्णय नगर्न तथा सरकारी कामकारबाहीलाई प्रभावित गर्ने गरी कर्मचारी सरुवा नगर्नसमेत अपिल गर्नुभएको छ ।

माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईले अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले नयाँ सरकार गठनका लागि राजीनामा दिनुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments