Fri. May 3rd, 2024

‘राजनीतिमा त्याग र बलिदानको भावना गणेशमान सिंहबाट सिक्नुपर्छ’   

पूर्वराजदूत प्रा डा जयराज आचार्यले स्व. गणेशमान सिंहमा त्याग र बलिदानका भावना उच्च रहेको स्मरण गर्दै उहाँ राजनीति आन्दोलनमा नयाँ पुस्ताका लागि उदाहरणीय भएको बताउनुभएको छ ।    

काठमाण्डू,२०८० चैत २७ गते मंगलबार । पूर्वराजदूत प्रा डा जयराज आचार्यले स्व. गणेशमान सिंहमा त्याग र बलिदानका भावना उच्च रहेको स्मरण गर्दै उहाँ राजनीति आन्दोलनमा नयाँ पुस्ताका लागि उदाहरणीय भएको बताउनुभएको छ ।

गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिले भक्तपुरको कटुञ्जेमा सोमबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उहाँले स्व राजा वीरेन्द्रले पनि गणेशमान सिंहको प्रसंशा गर्ने गरेको बताउनुभयो ।

“राजा वीरेन्द्रले विदेशीसँग घुँडा टेक्नुभन्दा गणेशमानसँग सम्झौँता गरी नेपाल र नेपालीलाई बहुदलीय प्रजातन्त्र दिनु देश र जनताको हितमा हुने धारण राख्नुहुन्थ्यो”, उहाँले भन्नुभयो ।

सिंहले वि.सं.२००७, २०१७ र २०४६ मा देश र जनताका लागि गर्नुभएको राजनीति आन्दोलन नयाँ पुस्ताका लागि उदाहरणीय रहेको प्रा. डा. आचार्यको भनाइ थियो ।

त्यस अवसरमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले कुनै पद, प्रतिष्ठा, लोभ र मोहमा नलागी नेपालको प्रजातान्त्रिक आन्दोलनमा अनवरत सङ्घर्षशील ऐतिहासिक जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर गणेशमान सिंहको योगदान अहिलेका राजनीति पुस्ताले अनुशरण गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले नेपालको राजनीति आन्दोलनमा स्व गणेशमान सिंहको योगदान अतुलनीय रहेको बताउनुभयो । गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिका अध्यक्ष माथवरसिंह बस्नेतले गणेशमान सिंहको व्यक्तित्व र उहाँको योगदानका सम्बन्धमा भावी पुस्तालाई अवगत गराउनुपर्ने खाँचो औँल्याउनुभयो ।

चैत २६ गते ऐतिहासिक जनआन्दोलन दिवसको सन्र्दभमा नेपालका विभिन्न राजनीति दल तथा अन्य विभिन्न प्रजातान्त्रिक संस्थाले स्व. गणेशमान सिंहले पु¥याउनु भएको योगदानका चर्चा परिचर्चा गरिँदै आइएको छ । विसं २०४६ चैत २६ गते नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको घोषणा भएको थियो ।

उक्त जनआन्दोलनमा विभिन्न राजनीति दल बहुदलीय व्यवस्थाको पुनःबहाली गर्न र पञ्चायती सरकारकाविरुद्ध सडकमा उत्रिएका थिए । आन्दोलनको नेतृत्व नेपाली कांग्रेसका नेता स्व गणेशमान सिंहले गर्नुभएको थियो । ऐतिहासिक जनआन्दोलन विंस २०४६ फागुन ७ गतेदेखि चैत २६ सम्म चलेको थियो । आन्दोलनको अन्त्यको घोषण स्व गणेशमानको उपस्थितिमा तत्कालीन राजा वीरेन्द्रले गर्नुभएको थियो ।

सोही दिन राजा, कांग्रेस र संयुक्त वाममोर्चाबीच सम्झौता भई निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनःबाहली भएको थियो । सोही दिन राजा वीरेन्द्रले विदेशीसँग घँुडा टेक्नुभन्दा गणेशमानसँग सम्झाँैता गरी नेपाल र नेपालीका लागि झुक्दछु भन्नुभएको थियो ।रासस

Facebook Comments