Tue. Apr 23rd, 2024

किसानका उत्पादन बिक्री गर्न कृषि एम्बुलेन्स

भैरहवा, २०७७ बैशाक ९ गते मंगलबार

लकडाउनको समयमा कृषि उपज बिक्रीका लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा कृषि एम्बुलेन्स सुरु भएको छ । प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा मंगलबारदेखि भैरहवामा कृषि एम्बुलेन्स सुरु भएको हो ।

किसानले उत्पादन गरेका तरकारी अहिले त्यत्तिकै खेर गएको अवस्थामा कृषि मन्त्रालयसँग जनउत्थानले समन्वय तथा सहकार्य गरेर किसानले उपलब्ध गराउने मूल्यमा नै उपभोक्ताहरुलाई तरकारी वितरण गरिएको सहकारीकी अध्यक्ष ज्ञानु पौड्यालले बताउनुभयो । किसानले उपलब्ध गराउने मूल्यमा जनउत्थानले सहजीकरण गरेर टिकुलीगढ, पश्चिम अमुवा, मर्चवार, शुद्धोधन लगायत ग्रामीण क्षेत्रबाट ताजा हरियो तरकारी भैरहवा ल्याएर वितरण गरिने उहाँले बताउनुभयो ।

“सिद्धार्थनगर नगरपालिका भारतीय सीमासँग जोडिएको र खुल्ला सिमाना भएका कारण भारतबाट तरकारी आइरहेको छ, यसले कोरोना भाइरसको जोखिम बढेको छ, कृषि एम्बुलेन्सले केही भए पनि विषादीयुक्त तरकारीको आयात रोकिन्छ”-उहाँले भन्नुभयो ।

यो कार्यले उपभोक्ताले आफ्नै देश तथा आफ्नो ठाउँको तरकारी खान पाउने उहाँले बताउनुभयो । “जनउत्थानले भैरहवामा पनि प्रत्येक टोलटोल तोकेको छ, टोल प्रमुखले स्थान र समय तोकेर भीड कम गरेर तरकारी उपलब्ध गराउनेछन्”-उहाँले भन्नुभयो ।

कृषिमन्त्री पौडेलले यहाँका उत्पादनले मूल्य पाएको नपाएको अवस्थामा अब कृषि एम्बुलेन्समार्फत किसानले मूल्य पाउने र उपभोक्ताले सहज रुपमा कृषि उत्पादन पाउने बताउनुभयो ।
बाटोमा कहीं रोकतोक नहोस् र किसानको उप्तादन सहज रुपमा उपभोक्ता माझ पुगोस् भन्ने उद्देश्यले यो कार्यको थालनी गरेको उहाँले बताउनुभयो । “किसानले मुस्किलले उत्पादन गरेका वस्तु यो बेला पनि किसानसँग सस्तोमा किनेर बढी मूल्यमा बिक्री गर्ने प्रवृत्ति छ, यो रोक्न पनि कृषि एम्बुलेन्सले सहयोग गर्छ”-उहाँले भन्नुभयो ।

वितरण प्रणालीमा भैरहवामा जनउत्थान सहकारीले सहयोग गर्ने उहाँले बताउनुभयो । मेहनतले किसानले उत्पादन गरेका उत्पादन उपभोक्ता समक्ष ल्याउन सहकारीको महत्वपूर्ण भुमिका रहने उहाँको भनाइ छ । तरकारी खरीद गरेका उपभोक्ता ईञ्जिनियर जीवन अर्यालले सस्तोमा हरियो ताजा तरकारी उपलब्ध गराउने कार्य प्रशसंनीय भएको बताउनुभयो । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ स्थित अन्नपूर्ण टोलबाट एम्बुलेन्सको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले शुभारम्भ गर्नुभएको हो । गोरखापत्र अनलाईनबाट

Facebook Comments