Tue. May 14th, 2024

भोकमरी र बाढीका कारण दक्षिणी अफ्रिकाले मानवीय सङ्कटको सामना गर्दै 

जोहानेसबर्ग (दक्षिण अफ्रिका), २०८० चैत २३ गते शुक्रबार । दक्षिणी अफ्रिकामा ठूलो खडेरी र बाढीका कारण लाखौँ मानिसले भोकमरी, कुपोषण र पानीको अभावको सामना गरिरहेको सिएनएनले बताएको छ ।

सहायता समूह अक्सफामले जारी गरेको गम्भीर चेतावनीमा दुई करोड ४० लाख मानिस प्रभावित भएको र अवस्था ‘अकल्पनीय मानवीय सङ्कट’ मा परिणत हुनसक्ने विज्ञहरूलाई डर भएको उल्लेख छ ।

प्रशान्त महासागरमा उत्पन्न हुने प्राकृतिक जलवायु घटना अल निनोका कारण प्रचलित खडेरी अझ तीव्र भएको छ । अल निनोले दक्षिणी अफ्रिकामा उच्च तापक्रम र कम वर्षा ल्याउँछ । यसले सुक्खाको स्थिति बढाउँछ । वर्षा हुँदा सुक्खा जमिनले बाढीको खतरा बढाउँछ ।

मुख्यरूपमा जीवाश्म इन्धन उत्सर्जनबाट सञ्चालित अल निनोले व्यापक जलवायु सङ्कटका प्रभावहरूलाई बढाउँछ । सिएनएनका अनुसार यो सङ्कटले दक्षिणी अफ्रिकामा खडेरी र बाढीसहित बारम्बार थप गम्भीर मौसमी घटनाहरू निम्त्याउँछ । यसलाई अक्सफामले ‘जलवायु प्रकोप हटस्पट’ भनेर चिनाएको छ ।

दक्षिणी अफ्रिका आफ्नो परम्परागत सुक्खा मौसममा प्रवेश गर्दा अङ्गोला, बोत्स्वाना, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, मलावी, मोजाम्बिक, नामिबिया, जाम्बिया र जिम्बाब्वेजस्ता मुलुक पहिलादेखि नै लामो समयसम्म सुक्खा अवस्थाबाट ग्रस्त छन् ।

मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालयको हालैको प्रतिवेदनले जनवरीको अन्त्यदेखि फेब्रुअरीसम्म वर्षाको स्तर कम्तीमा ४० वर्षमा सबैभन्दा कम रहेको देखाएको छ । यसका साथै यस क्षेत्रको मध्य भागमा फेब्रुअरीमा एक शताब्दीभन्दा पनि बढी समयमा सबैभन्दा सुक्खा अनुभव गरिएको युनाइटेड स्टेट्स एजेन्सी फर इन्डरनेसनल डेभलपमेन्टको भोकमरी प्रारम्भिक चेतावनी प्रणाली नेटवर्कले जनाएको छ ।

यसको असर कृषिमा नराम्ररी परेको छ । अत्यधिक खडेरीले जाम्बिया, मलावी र मध्य मोजाम्बिकमा २० लाख हेक्टरभन्दा धेरै बालीमा क्षति पुर्याएको छ । यसबाट खाद्य असुरक्षा बढेको छ ।

मलावीका राष्ट्रपतिले चरम मौसमको स्थितिका कारण लागातार चौथो वर्ष मुलुकका अधिकांश हिस्सामा प्रकोपको अवस्था घोषणा गर्नुभएको छ । विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले मलावीमा जलवायु सङ्कटमा अल निनोको मिश्रित प्रभावलाई उजागर गरेको छ ।

विश्वव्यापी उत्सर्जनमा न्यूनतम योगदान दिए पनि दक्षिणी अफ्रिका जलवायु परिवर्तनका लागि उच्च जोखिममा रहेको छ । उत्सर्जन नगन्य रहेको मोजाम्बिकमा ३० लाख मानिसले भोकमरीको सामना गर्नुपरेको छ । राजधानी मोपुटोले मार्चमा विनाशकारी बाढीको अनुभव गर्नुपरेको छ ।

एक्सनएडको अन्तर्राष्ट्रिय क्लाइमेट जस्टिस लिडका टेरेसा एन्डरसनले अन्यायको निन्दा गर्दै थोरै काम गर्दा मोजाम्बिक जस्ता गरिब मुलुकहरू सङ्कटको चपेटामा परेको बताउनुभयो । उहाँले धनी प्रदूषणकारी मुलुकहरूलाई जिम्मेबारी लिन र कमजोर समुदायको सहयोगका लागि जलवायु वित्त प्रदान गर्न आग्रह गर्नुभयो ।

अक्सफामका दक्षिणी अफ्रिका कार्यक्रम निर्देशक माचिन्डा मारोङ्वेले तत्कालीन अवस्थालाई ध्यानमा राख्दै दाताहरूसँग बढ्दो मानवीय प्रकोपलाई रोक्न तत्काल स्रोतहरू जारी गर्न आग्रह गर्नुभयो । “यी सबै मुलुकले एकसाथ धेरै सङ्कटको सामना गर्नुपरेको छ, त्यसैले तत्काललाई अतिरञ्जित गर्न सकिँदैन”, उहाँले भन्नुभयो ।एएनआई

Facebook Comments