Fri. May 3rd, 2024

धनगढी–दिपायल द्रतमार्ग धमाधम कालोपत्र हुँदै   

धनगढी-खुटिया-बिपीनगर-दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ ।

गोदावरी (कैलाली), २०८० चैत २२ गते बिहीबार ।  धनगढी-खुटिया-बिपीनगर-दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ । सो सडकअन्तर्गत धनगढी-स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो ।

सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेपछि कालोपत्रको काम पनि प्रारम्भ गरिएको सडक आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले बताउनुभयो । उक्त सडकखण्ड एक महिनाभित्रै कालोपत्र सम्पन्न हुने गरी धमाधम काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

राससका अनुसार  धनगढी-स्याउले सडकखण्डको १३ दशमलव ४ र दिपायलको तिखा-मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ साल वैशाखमा सम्झौता भएको थियो । हाल डोटीको दिपायल तिखा-मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र भइरहेको छ । आयोजनाअन्तर्गत कैलालीमा ८० प्रतिशत र डोटीमा ६५ प्रतिशत कालोपत्रको काम पूरा भएको छ । धनगढी-स्याउले सडक खण्डमा खड्का-कृष्ण-नारायण-बगलामुखी जेभीसँग २०७८ मा पिपलचौतारादेखि स्याउले महेन्द्र राजमार्गभन्दा तीन किलोमिटर अगाडि १३ दशमलव ४ किलोमिटरमा कालोपत्र गर्न भ्याटबाहेक रु १६ करोड ४० लाखमा सम्झौता भएको इन्जिनियर रैखोलाले बताउनुभयो ।

Facebook Comments