विराट गोल्डकप फुटबल: साङ्ग्रिला क्लब फाइनलमा
मोरङ,२०८० चैत २२ गते बिहीबार । विभागीय टोली एपीएफलाई ४-३ गोल अन्तरले हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति सहिद रङ्शालामा भएको पहिलो सेमिफाइनल खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट भएको खेलमा हारजितको टुङ्गो नलागेपछि टाइब्रेकरमा साङ्ग्रिला फुटबल क्लबले उक्त परिणाम निकालेको हो । टाइब्रेकरमा पनि दुवै टोलीले ३-३ गोलको बराबरी खेलेपछि सडनडेथबाट निर्णय भएको हो ।
साङ्ग्रिला क्लबका विशाल सुनार , आशिष चापागाईं, उमेश कार्की र र किरण राईले गरेका प्रहार गोलमा परिणत भएको थियो ।
एपीएफका अनिश महर्जन, सुमन श्रेष्ठ र विश्वास उदास गोल गर्न सफल भएका थिए भने दिपेश धिमाल र कुलदीप कार्की गोल गर्न चुकेका थिए । साङ्ग्रिला क्लबका गोलरक्षक विशाल सुनारले उनीहरूका प्रहार रोकेर आफ्नो टोलीलाई जिताएका हुन् । उनी प्लेयर अफ द म्याच घोषित भएर नगद रु ११ हजार पुरस्कार प्राप्त गरे ।
आज काठमाण्डूको मच्छिद्र फुटबल क्लब र सिक्किमको ड्रागन फुटबल क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । उपाधिका लागि पर्सी शनिबार प्रतिस्पर्धा हुनेछ । रासस