Fri. May 3rd, 2024

निर्माणको क्रममा ढलेको बाईटार–चिपटार पुलको ‘टावर’ ठड्याइयो   

निर्माणको क्रममा ढलेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका-१० सोरुङछबिसेको चिपटार जोड्ने झोलुङ्गे पुलको टावर ठड्याइएको छ ।

खोटाङ,२०८० चैत २० गते मंगलबार । निर्माणको क्रममा ढलेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका-१० सोरुङछबिसेको चिपटार जोड्ने झोलुङ्गे पुलको टावर ठड्याइएको छ । पुलको उदयपुरतर्फको निर्माणाधीन टावर २०७९ चैत १० गते ढलेको थियो ।    
    
राससका अनुसार  निर्माण कम्पनी नेपाल फूलबारी-स्वर्णीम-अन्सुमन जेभीले पुलको टावर हालै ठड्याएको हो । स्थानीयको निरन्तरको दबाबपछि उक्त कम्पनीले गत फागुन २९ गतेदेखि काम सुरु गरेको थियो । टावर ढलेयता पुलको काम रोकिएको थियो । निर्माण कम्पनीलाई प्रदेश सांसद भूपेन्द्र राईलगायत स्थानीयले पूर्वाधार विकास कार्यालय गाईघाट र निर्माण व्यवसायीलाई अविलम्ब काम थाल्न अनुरोध गर्नुभएको थियो ।    
    
प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत उपलव्ध गराएको रु तीन करोड ५० लाखमा पुल निर्माणको काम सुरु भएको थियो ।    
    
झोलुङ्गे तथा पक्की पुल अभावमा साविकको डिकुवा-३ बाईटार र बलुई तथा साविकको डिकुवा-२ टारगाउँका एक सय १० परिवार डुङ्गा चढेर नदी वारपार गर्न बाध्य छन् । उदयपुरको कटारीबजार डिकुवा र बाहुनीडाँडाका स्थानीयको दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख व्यापारिक केन्द्र हो ।    
   
  

Facebook Comments