Fri. May 3rd, 2024

किच्चकबधमा भेटियो दरबारको ऐतिहासिकता दर्शाउने भग्नावशेष   

बनियानी (झापा), २०८० चैत १९ गते सोमबार । झापाको भद्रपुर नगरपालिका-३ स्थित धार्मिक तथा ऐतिहासिकस्थल किच्चकबधमा एउटा पूर्ण दरबारको ऐतिहासिकता दर्शाउने भग्नावशेष फेला परेको छ ।    
    
 पुरातत्व विभागको टोलीले सातौँ पटक गरेको उत्खननका क्रममा उक्त भग्नावशेष फेला परेको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिनुभयो । भद्रपुर-३ पृथ्वीनगरस्थित देउनिया नदी र मेची नदीको किनारमा रहेको किच्चकबधको ऐतिहासिकता प्रमाणित गर्न पुरातत्व विभागको यही चैत २ गतेदेखि १८ गतेसम्म सातौँ पटक उत्खनन गरेको थियो ।    
    
 पुरातत्वविद् आचार्यको नेतृत्वमा पुरातत्व विभागका अधिकृत नवराज अधिकारी, इञ्जिनियर रोशनी महर्जन, प्राविधिक सहायक महेशबाबु शर्मा राजोपाध्याय र फोटोग्राफर राजन पौडेलले उत्खनन गर्नुभएको थियो । पहिलो पटक पुरातत्वविद् आचार्यको नेतृत्वको टोलीले विसं २०५८ मा किच्चकबधमा उत्खनन सुरु गरेको थियो ।    
    
 हालसम्म गरिएको उत्खननका क्रममा किच्कबधको उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तर-पश्चिम छेउमा सेन्ट्री बस्नेसहितको भवन, सोही भवनको केही पश्चिम–दक्षिणमा अर्को बहुतले भवनको भग्नावशेष फेला परेको छ । यी चार वटा भवनको दक्षिणतिर दुई सय फुटको दूरीमा सुरक्षा प्रमुखसहित अरू सुरक्षाकर्मी बस्ने शैलीको दुईतले भवन गरी पाँच वटा भवनका संरचना फेला परेका पुरातत्वविद् आचार्यले जानकारी दिनुभयो ।    
    
 यसअघिका उत्खननबाट फेला परेका पुरातात्विक सामग्रीको वैज्ञानिक परीक्षणबाट इशापूर्व प्रथम शताब्दीतिरको मानव सभ्यतासँग गाँसिएका प्रमाणित भएको आचार्यले बताउनुभयो । “यो आधारमा किच्चकबधको ऐतिहासिकता २२ सय वर्ष पुरानो भएको पाइएको छ”, उहाँले भन्नुभयो, “भारतमासँग कुषाणकाल चलेको समयमा यसस्थलमा पनि कुनै शासकको दरबार र किल्ला रहेको हुनसक्छ । पाँचौँ शताब्दीसम्म कायम रहेको (भारतको गुप्तकालसम्म) अनुमान छ ।”    
    
राससका अनुसार उत्खनन गरिएका संरक्षितस्थलमा मानिसले टेकेर हिँड्न नहुने आचार्यले बताउनुभयो । “यो ठाउँमा मानिसको आवतजावतले संरक्षित अवशेष भत्किने गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “संरक्षण समितिले सुरक्षित राख्नसक्ने हो भने मात्र यसको ऐतिहासिकता सुरक्षित रहन सक्छ ।”    

Facebook Comments