Sun. Apr 28th, 2024

एसइई परीक्षामा ५ लाख ४ हजार परीक्षार्थी सहभागी

काठमाण्डू, २०८० चैत १५ गते बिहीबार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि शुरू भएको छ । आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ । परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने छ । परीक्षामा सहभागी हुन मुलुकभरबाट पाँच लाख चार हजार ४१४ जना परीक्षार्थीले रजिस्ट्रेसन फाराम भरेका छन् ।

सबैभन्दा बढी परीक्षार्थी काठमाण्डूका ३८ हजार ८१३ जना र सबैभन्दा कम जापानका २३ जना रहेको बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । तीमध्ये छात्राको सङ्ख्या दुई लाख ५० हजार ७७२ र छात्रको सङ्ख्या दुई लाख ५३ हजार ६२७ रहेको छ । परीक्षाका लागि देशभरि दुई हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा धेरै परीक्षा केन्द्र बागमती प्रदेशमा ४४१ वटा निर्धारण गरिएको छ । नेपाली भाषामा पढाइ सञ्चालन गरिरहेको जापानमा पनि एउटा परीक्षा केन्द्र तोकिएको छ ।

यस पटकबाट परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गरिने छ । गत वर्षसम्म नौ वटा ग्रेडमा नतिजा प्रकाशन गर्ने गरिएको थियो । यस पटकदेखि परीक्षार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनै पर्छ । दुई विषयसम्म ननग्रेडेड (एनजी) ल्याउनेलाई ग्रेड वृद्धिको मौका दिइने छ । यस वर्षदेखि परीक्षा सञ्चालन हुने सात वटै विषयमा २५ अङ्कको आन्तरिक मूल्याङ्कन हुने छ भने ७५ अङ्कको मात्रै सैद्धान्तिक परीक्षा हुने छ ।

Facebook Comments