Sun. Apr 28th, 2024

आत्मघाती हमलामा पाँचजना चिनियाँ मजदुर र पाकिस्तानी चालकको मृत्यु   

पेशावर (पाकिस्तान), २०८० चैत १३ गते मंगलबार । उत्तरपश्चिम पाकिस्तानमा एकजना आत्मघाती हमलाकारीले आफ्नो गाडीलाई निशाना बनाउँदा मङ्गलबार एउटा प्रमुख बाँध निर्माणस्थलमा काम गरिरहेका पाँचजना चिनियाँ नागरिक र एकजना चालकको मृत्यु भएको प्रहरीले बताएको छ ।

पाकिस्तान पैचिङको सबैभन्दा नजिकको क्षेत्रीय सहयोगी हो तर पाकिस्तानमा चिनियाँ श्रमिकहरूको सुरक्षा लामो समयदेखि चिन्ताको विषय बनेको छ ।

“हमलामा पाँच चिनियाँ र उनीहरूको स्थानीय चालक मारिएका छन्”, खबैर पख्तुनख्वा प्रान्तका वरिष्ठ प्रहरी अधिकारी मुहम्मद अली गन्डापुरले भन्नुभयो । उहाँका अनुसार चाइना गेजुवा ग्रुप कम्पनीले निर्माण गरिरहेको दासु जलविद्युत् बाँधस्थलबाट उक्त सवारी राजधानी इस्लामाबाद जाँदै गर्दा बेशम सहर नजिकै बम विस्फोट भएको थियो ।

गहिरो घाटी रहेको एउटा पहाडी सडकमा हमला भएको थियो । सन् २०२१ मा सोही निर्माण स्थलमा इन्जिनियरहरूलाई लैजाँदै गरेको बस बम हमलामा परेको थियो । उक्त हमलामा नौ चिनियाँ श्रमिकसहित १३ जनाको मृत्यु भएको थियो ।

चिनियाँ लगानीको आधारशिला मानिएको दक्षिण पश्चिम पाकिस्तानमा ग्वादर बन्दरगाहको कार्यालयमा हमला गर्ने प्रयासमा सुरक्षा बलले कम्तीमा सातजना आतङ्कवादीलाई मारेको केही दिनपछि मङ्गलबारको हमला भएको हो ।

पैचिङले हालका वर्षहरूमा पूर्वाधारहरूलाई बढावा दिन पाकिस्तानमा अर्बौं डलर लगानी गरेको छ । यसमा उसको ‘बेल्ट एन्ड रोड’ पहल पनि सामेल छ । उक्त पहलअन्तर्गत चीनले विश्वभरमा २० खर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेको छ ।

यद्यपि चिनियाँ अनुदानमा सञ्चालित परियोजनाहरूले विशेषरूपमा पृथकतावादी समूहरूबीच असन्तोष सिर्जना गरेको छ । उनीहरूले यस्तो लगानीले स्थानीय बासिन्दालाई अत्यन्तै कम लाभ हासिल हुने र अधिकांश नोकरी बाहिरी मानिसले पाउने बताएका छन् ।

सन् २०१९ मा अरब सागरसम्म रणनीतक पहुँच प्रदान गर्ने ग्वादरस्थित प्रमुख चिनियाँ समर्थित गहिरो पानीको बन्दरगाह नजिकैको बलुचिस्तान प्रान्तमा एउटा लक्जरी होटलमा बन्दुकधारीहरूले हमला गर्दा कम्तीमा आठ जनाको मृत्यु भएको थियो ।

साथै सन् २०२० जुनमा बलुच विद्रोहीहरूले कराँचीको व्यापारिक राजधानी कराँचीमा आंशिकरूपमा चिनियाँ कम्पनीहरूको स्वामित्व रहेको पाकिस्तान स्टक एक्सचेन्जलाई निशाना बनाएका थिए । एएफपी

Facebook Comments