Mon. Apr 29th, 2024

थरीथरीका विचलन रोक्न विश्वासको मत दिनुहोस् : प्रधानमन्त्री

काठमाण्डू, २०८० फागुन ३० गते बुधबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको भावनाविपरीतका थरीथरीका विचलन रोक्नका लागि आफूलाई विश्वासको मत प्रदान गर्न संसद्सँग आग्रह गर्नुभएको छ ।

विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सृजना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन सरकारले विश्वासको मत पाउन जरुरी रहेको स्पष्ट पार्नुभयो ।

“पछिल्ला सबै आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै राष्ट्रियता, स्वाभिमान र सार्वभौमसत्ताप्रति गौरवबोध गर्न मलाई संसद्को समर्थन चाहिएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “म सम्मानित संसद्लाई विश्वास दिलाउँछु हजारौँ नयाँ ‘स्टार्टअप’ र उद्यमशीलता केही महिनामै सुरु हुनेछन् । आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ ।”

सुशासनमा अहिलेसम्म भएका प्रयासले लोकतन्त्रप्रति जनताको आस्था पुनः स्थापित गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सार्वजनिक सेवा प्रवाह र सुशासनबाट नागरिकमा राज्यप्रति भरोसा जगाइने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले आजको प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिनुहुने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रका सम्भावना हासिल गर्न राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिनुभयो । “यावत् आक्षेपकै बीचमा पनि म फेरि दोहो¥याउँछु, प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अहिलेको शतिm विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ । राष्ट्रपति हुनुहुन्छ, नेपाली कांग्रेसको पृष्ठभूमिबाट, उपराष्ट्रपति जनता समाजवादी पार्टीबाट, सभामुख नेकपा (एमाले)को पृष्ठभूमिबाट, राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रको पृष्ठभूमिबाट, उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको पृष्ठभूमिबाट, सबैको सम्मानपूर्ण यो प्रतिनिधित्वमा मेरो निर्णायक भूमिका छ र त्यसमा मलाई गर्व छ ।”  रासस

Facebook Comments