Mon. Apr 29th, 2024

अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने

काठमाण्डू, २०८० फागुन २६ गते शनिबार । अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने हुनुभएको छ । अष्ट्रेलियन पर्वतारोही पेपरले आज यहाँ पत्रकार सम्मेलन गरी सन् २०२६ भित्र बिनाअक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । उहाँले यही वसन्त ऋतुमा अन्नपूर्ण–१ चढ्न लागेको बताउनुभयो ।

“मेरो आफ्नै आरोहण शैलीका कारण मैले तोकेको समयमा लक्ष्य हासिल गर्ने कुरामा म विश्वस्त छु”, पेपरले भन्नुभयो । उहाँले कपनको सेभेन समिट ट्रेक्समार्फत बिनाअक्सिजन अन्नपूर्ण हिमालको आरोहण गर्न लाग्नुभएको हो । पेपरले सन् २००७ मा तिब्बतको माउन्ट चोयु हिमाल बिनाअक्सिजन आरोहण गर्नुभएको थियो ।

पेपरले सन् २०२३ को जुलाई १५ मा ब्रोडपिक र सन् २०२३ को सेप्टेम्बर २८ मा मनास्लु हिमालको सफल आरोहण गरिसक्नुभएको छ । ब्रोडपिक बिनाअक्सिजन सफल आरोहण गर्ने उहाँ पहिलो अष्ट्रेलियाली महिलासमेत हुनुहुन्छ । विश्वमा हालसम्म छ जना आरोहीले मात्र बिनाअक्सिजन आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको सफल आरोहण गरिसकेका छन् । रासस

Facebook Comments