Sat. May 4th, 2024

अध्यक्ष नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन समिति गठन   

काठमाण्डू, २०८० फागुन २५ गते शुक्रबार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले अध्यक्ष नेपाललाई सो जिम्मेवारी तोकेको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

समितिमा केन्द्रीय समिति र आयोगका सबै पदाधिकारी रहने निर्णय गरेको बैठकले नयाँ गठबन्धनमा निर्माण भएको सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीलाई जनमुखी कार्य सम्पादनका लागि निर्देशन दिएको छ । महाधिवेशनका लागि पार्टी मातहतका सङ्गठनका गतिविधि, कार्ययोजनाबारे बैठकमा समीक्षा गरिएको थियो ।

बैठकमा मुलुकको समसामयिक परिस्थिति, राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीको आगामी कार्ययोजनामा समेत छलफल गरिएको थियो । आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाण्डूमा पार्टीको महाधिवेशन गर्न लागिएको छ ।

Facebook Comments