Tue. May 7th, 2024

तेस्रो पटक मन्त्रीको भूमिकामा माओवादी नेत्री शर्मा   

????????? ?????? ??? ????? ?????????????? ???? ??????? ?????? ??????????? ????? ????? ????? ? ?????? : ??????? ????? / ????

काठमाण्डू, २०८० फागुन २३ गते बुधबार । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज साँझ पदबहाली गर्नुभएको छ । यसअघि शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा २०७९ माघ ३ गतेदेखि २०८० फागुन २१ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

प्रधानमन्त्री दाहालले आज गर्नुभएको मन्त्रिपरिषद् गठनमा उहाँ पुनःसञ्चारमन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँले २०७२ कात्तिक १ गतेदेखि २०७३ असार २८ गतेसम्म सामान्य प्रशासन मन्त्रीका रुपमा भूमिका निर्वाह गर्नुभएको थियो । २०७९ मङ्सिर ४ गतेको निर्वाचनबाट शर्मा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेललाई पराजित गर्दै निर्वाचित हुनुभएको थियो । उहाँ समानुपातिक प्रणालीबाट २०७० मा संविधानसभा सदस्य र २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो ।

वि.सं. २०२६ असोज ९ गते दाङको घोराही उपमहानगरपालिका वडा नं १८ मसिनामा बुबा गिरिराज शर्मा र आमा पार्वती शर्मा पौड्यालको कोखबाट जन्मिनुभएका शर्माले वि.सं. २०४२ सालदेखि विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो ।

अखिलको इकाई समितिबाट राजनीति सुरु गर्नुभएका शर्माले वि.सं. २०४७ मा अखिलको जिल्ला उपाध्यक्ष, वि.सं. २०४८ सालमा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को दाङ अध्यक्ष, विसं २०५० मा महिला सङ्गठनको केन्द्रीय सदस्य, वि.सं. २०५१ मा वाइसिएल केन्द्रीय सदस्य, विसं २०५३ सालदेखि वि.सं. २०५८ सालसम्म अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को केन्द्रीय अध्यक्षको भूमिका निर्वाह गर्नुभएको थियो ।

वि.सं. २०५७ मा नेकपा (माओवादी)को केन्द्रीय सदस्य बन्नुभएकी नेत्री शर्मा काठमाण्डू उपत्यका उपब्युरोको इञ्चार्जको भूमिकामा रहेको बेलामा २०५८ चैतमा पार्टी केन्द्रीय सदस्य तथा श्रीमान् कृष्णध्वज खड्कासँगै चाबहिलबाट पक्राउ पर्नुभएको थियो ।

तत्कालीन शाही नेपाली सेनाको ललितपुरस्थित राजदल गण र पोखराको सैनिक ब्यारेकमा लामो कष्टकर यातनापछि सरकार र माओवादीबीच वार्ता सुरु भएपछि २०५९ साल चैत ३१ गते दुवैजना जेलमुक्त हुनुभएको थियो । लामो जेल जीवनपछि पुनः राजनीतिमा सक्रिय शर्मा हाल नेकपा (माओवादी केन्द्र)को स्थायी समिति सदस्यको भूमिकामा रहनुभएको छ ।

वि.सं. २०७० देखि २०७२ सम्म संविधान निर्माणमा महत्वपूर्ण योगदान गर्नुभएका शर्माले २०७४ मा संसदीय दलको सचेतकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । मन्त्री शर्माले समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ निर्वाचित हुने शर्मा एक्लै महिला हुनुहुन्छ । आफूलाई सामाजिक न्याय र समानताको पक्षधरका रूपमा परिचित गराउन चाहने मन्त्री शर्मा कृषि र अर्थतन्त्रको विषयमा पनि रुचि राख्नुहुन्छ । पार्टीको विद्यार्थी, युवा र महिला सङ्गठनमा लामो समय बिताउनुभएका शर्माले संविधानसभा पदक प्राप्त गर्नुभएको छ । रासस

Facebook Comments