Mon. Apr 29th, 2024

प्रिमनसुन शुरू : देशभर बदली, केही स्थानमा वर्षा

काठमाण्डू, २०८० फागुन २० गते आईतबार । नेपालमा हिउँद सकिएर हालै मात्र प्रिमनसुनको अवधि शुरु भएको छ । आँकलन गरिएभन्दा कम चिसो र कम पानी परेर यसपालिको हिउँद सकिएको हो ।

हिउँद सकिएर प्रिमनसुनको अवधि यही शुक्रबारदेखि शुरु भए पनि प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रिमनसुन अवधि शुरु भएपछिको आजको यो पहिलो मौसम बदली हो ।

मुख्यगरी पश्चिमी वायु र अरेवियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले लुम्बिनी, बागमती, गण्डकी, कणाली प्रदेशमा बढी बदली रहेको छ । सुदूरपश्चिम, कोशी र मधेशमा कम बदली रहेको भन्दै यो सर्दै गएकाले ती क्षेत्रमा पनि बदली हुने लामिछानेले बताउनुभयो । यो क्रम आज रातिसम्म बढ्दै जाने र भोलिदेखि क्रमशः मौसममा सुधार हुने लामिछानेले जानकारी दिनुभयो । आज राति पश्चिमी भू-भागमा बढी बदली हुने उहाँको भनाइ छ ।

काठमाण्डूमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ । गत मङ्सिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि यस वर्षको हिउँदको समय थियो । हिउँदले बिदा लिए पनि अझै पश्चिमी वायुको प्रभाव बाँकी नै रहेको महाशाखाले जनाएको छ । रासस

Facebook Comments