Sat. May 11th, 2024

वरिष्ठ गायक आचार्यप्रति गायक तथा सङ्गीतकारद्वारा श्रद्धाञ्जलि अर्पण

आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै कुलपति शर्मा काठमाडौँ, १५ फागुन : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा मङ्गलबार वरिष्ठ गायक तथा सङ्गीतकार स्व भक्तराज आचार्यप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै । अन्तिम संस्कार गर्नु अघि अहिले आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रतिष्ठानमा राखिएको छ । गीत सङ्गीत क्षेत्रका व्यक्ति तथा शुभेच्छुकहरुले उहाँको पार्थिब शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँको सोमबार निधन भएको थियो। तस्वीर : नारायण ढुङ्गाना/रासस

भिओके समाचार/काठमाण्डू, २०८० फागुन १५ गते मंगलबार । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको छ ।

प्रतिष्ठानका कुलपति निशा शर्माले पुष्पहार अर्पण गरी सुरु भएको श्रद्धाञ्जलि अर्पण अहिले पनि जारी छ । प्रतिष्ठानमा उहाँलाई श्रद्धाञ्जलि दिन शुभेच्छुक तथा गीत सङ्गीत क्षेत्रका व्यक्तिको उपस्थिति छ ।

प्रतिष्ठाकी सदस्यसचिव कुस्मा महराले बिहान ११ बजेदेखि शुभचिन्तक, गीत–सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारबाट श्रद्धाञ्जलि अर्पण चलिरहेको बताउनुभयो । साथै केही समयपछि श्रद्धाञ्जलिका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायत नेपाल सरकारका उच्च अधिकारीहरुको पनि उपस्थिति रहने जानकारी दिनुभयो । उहाँका आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

भजन शिरोमणि उपाधि पाउनुभएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो । उहाँलाई हिजो अपराह्न ४ बजेतिर अक्सिजन तह कम भएपछि अस्पताल लगिएको थियो ।

प्रतिष्ठानकी कुलपति निशा शर्माले गीत–सङगीत क्षेत्रको एउटा धरोहर ढलेको र उहाँको अभाव सधैँ खड्किरहने बताउनुभयो ।

आचार्यले ‘मुटु जलिरहेछ…’, ‘जति चोट दिन्छौँ…’, ‘जहाँ छन् बुद्धका आँखा…’, ‘हजार सपनाहरूको…’, ‘माया मेरी साँझ बिहान…’, ‘हजार आँखा हेर्ने…’लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिनुभएको छ । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत-सङ्गीत क्षेत्रमै हुनुहुन्छ ।

उहाँको राष्ट्रिय सम्मानका साथ बिदाइको तयारी गरिएको छ । वि.सं. १९९९ मा धनकुटामा जन्मिनुभएका आचार्यको नेपाली सुगम सङ्गीतमा महत्वपूर्ण योगदान छ ।

Facebook Comments