Sun. Apr 28th, 2024

मधेस प्रदेशः उन्नाइस लाख बालबालिकालाई दादुराविरुद्धको खोप   

जनकपुरधाम, २०८० फागुन १३ गते आईतबार । सरकाकरले आजदेखि सुरु गरेको दादुरारुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मधेश प्रदेशका आठ जिल्लाका १९ लाख ४७ हजार एक सय ४२ जना बालबालिकालाई खोप लगाइने भएको छ ।

आज जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित श्रीराम लक्ष्मण राष्ट्रिय प्राथमिक विद्यालाय केन्द्रबाट उपमहानगरप्रमुख मनोजकुमार साह र मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा राजीवकुमार झाले खोप अभियानको शुभारम्भ गर्नुभयो ।

त्यसअवसरमा निर्देशनालय प्रमुख झाले मधेस प्रदेशका आठ जिल्लामा नौ महिनादेखि १५ वर्ष उमेर समूहका १९ लाख ४७ हजार एक सय ४२ जनालाई खोप लगाइने जानकारी दिनुभयो । राष्ट्रिय अभियानअन्तर्गत आजदेखि आगामी चैत ७ गतेसम्म प्रदेशका एक सय ३६ पालिकाका सबै एक हजार ७१ वडामा ११ हजार ३ सय ४६ केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । त्यसका लागि १५ हजार पाँच सय ८४ खोप कार्यकर्ता र त्यति नै सङ्ख्यामा स्वयंसेवक परिचालन गरिएको पनि उहाँले बताउनुभयो ।

त्यस्तै, स्वास्थ्य निर्देशनालयमा १० मात्रा भएको दुई लाख ५१ हजार सात सय ९८ भाइल, २१ लाख ९४ हजार सिरिन्ज र २१ लाख ९६ हजार घोलक सिरिञ्ज नेपाल सरकारकारमार्फत प्राप्त भएको पनि जानकारी दिइयो ।

अभियान सफल पार्न सरकारबाट जिल्लास्तरमा कार्यक्रम खोप कार्यक्रम सञ्चालनका निम्ति रु छ करोड ८९ लाख १८ हजार र स्वास्थ्य निर्देशनालयलाई कार्यक्रम गर्न रु दुई लाख १३ हजार नौ सय प्राप्त भएको पनि निर्देशनालयले जनाएको छ ।

जनकपुरधाम उपमहानगर प्रमुख साहले मधेस प्रदेशका जिल्लाहरू दादुरारुबेलाको जोखिममा रहेकाले अभियानबाट लाभ लिन नगरबासीलाई आग्रह गर्नुभयो । सरकारले सन् २०२६ सम्ममा नेपालबाट दादुरा रुवेला रोग उन्मूलन गर्ने लक्ष्यका साथ अभियान सुरु गरेकाले ढुक्कका साथ आफ्ना बालबालिकालाई नजिकको खोप केन्द्रमा लिनसमेत अनुरोध गर्नुभयो ।

यसैगरी, वडा नं २३ का अध्यक्ष राघबेन्द्र साहले आफ्नो वडामा रहेका लक्ष्यित दुई छ सय ५१ बालबालिकालाई खोप लगाउने बन्दोबस्त मिलाइएको बताउनुभयो ।रासस

Facebook Comments