Sat. May 18th, 2024

गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण   

ढोरपाटन (बागलुङ), २०८० फागुन ५ गते शनिबार । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको गाईघाट झरनालाई बराह तालसँग जोड्न पदमार्ग निर्माण गर्न थालिएको हो ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक वर्षमा विनियोजन भएको रु १० लाखले पदमार्ग निर्माण गर्न थालिएको हो । पदमार्ग निर्माणका लागि पर्यटन तथा उद्योग कार्यालय बागलुङसँग सम्झौता गरेर काम सुरु गरिएको गाईघाट झरना-बराहताल पदमार्ग निर्माण समितिका अध्यक्ष नरबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

यस वर्ष विनियोजन भएको बजेटले तालसम्म पदमार्ग पु¥याउन नसकिने उहाँको भनाइ छ । पक्की पदमार्ग निर्माण गर्न बढी खर्च लाग्ने हुँदा यस वर्ष करिब सात सय मिटर निर्माण हुने अध्यक्ष घर्ती मगर बताउनुहुन्छ । गाईघाट झरनादेखि करले गाउँसम्म पदमार्ग निर्माण गर्ने मगरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “झरनादेखि केही माथिसम्म यसभन्दा अगाडि पदमार्ग निर्माण भएको छ, त्यहाँबाट नयाँ काम सुरु गरेका छौँ, योजना बराह तालसम्म पु-याउने हो, तर बजेटले पुग्दैन, माथि गाउँसम्म पुग्ने ‘स्टिमेट’ भएको छ, कामलाई तीव्रता दिन थालेका छौँ, पदमार्गमा सिमेन्ट, बालुवाको प्रयोग बढी गर्नुपर्ने हुँदा बढी खर्चिलो हुन्छ ।”

ताराखोला-१ मा पर्ने झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । झरनामा आउने पर्यटकलाई तालसम्म पु-याउन पदमार्गले सहजता प्रदान गर्ने ताराखोला-१ का अध्यक्ष यामबहादुर श्रीसले बताउनुभयो । खासगरी पर्यटन प्रवद्र्धनका लागि पदमार्ग निर्माण गर्न थालिएको उहाँको भनाइ छ । गाईघाट झरनादेखि बराह ताल पाँच किलोमिटर उत्तरमा रहेको जनाउँदै तालसम्मै पदमार्ग पु-याउनका लागि आगामी वर्ष प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्ने अध्यक्ष श्रीसले बताउनुभयो ।

झरनामा गाउँपालिकाले यसभन्दा अगाडि सोलार बत्ती जडान, बगैँचा व्यवस्थापन, खोलामा पुल बनाएको जनाउँदै पछिल्लो समय पर्यटकको आकर्षण पनि बढ्दै गएको उहाँको भनाइ छ । महिनामा करिब दुई हजार बढी पर्यटकले झरनाको अवलोकन गर्ने गरेको श्रीसले बताउनुभयो । सबैभन्दा बढी बिदाको दिनमा पर्यटक आउने गरेका उहाँले जानकारी दिनुभयो ।

झरनालाई व्यवस्थित बनाउनका लागि प्रदेशले चालु आवमा पदमार्ग निर्माणसहित रु १५ लाख विनियोजन गरेको उहाँले बताउनुभयो । झरनाभन्दा माथि रहेको ताललाई सौन्दर्यकरण गर्नुका साथै त्यस वरपर मन्दिर निर्माणसमेत गरेको वडाध्यक्ष श्रीसको भनाइ छ ।

“अहिलेसम्म झरनामा आउने पर्यटक तालसम्म पु-याउन सकिएको छैन, ताल धेरै टाढा पनि होइन, पाँच किलोमिटरको दूरीमा छ, पदमार्ग निर्माणपछि झरना र ताललाई पर्यटकीय गन्तव्य बनाउन सकिन्छ की भन्ने लागेको छ”, अध्यक्ष श्रीसले भन्नुभयो, “यस वर्ष पु-याउन नसके पनि आगामी वर्षमा पालिका र प्रदेश सरकारसँग सहकार्य गर्छौं, तालसम्म पदमार्ग पु-याउने छौँ, पर्यटकको चाप बढ्दै गएको छ, झरनामा आएका पर्यटकलाई तालसम्म पु-याउन सके गाउँका उत्पादनले मूल्य पाउने छ, रोजगार सिर्जना हुने भने अन्य अवसर सिर्जना हुने अपेक्षा लिएका छौँ ।”  रासस

Facebook Comments