Sun. May 19th, 2024

ग्रामथान गाउँपालिकामा बहुमतको बलमिचाइँ : छैटौँ तह वरिष्ठ, सातौँ तह कनिष्ठ

विराटनगर, २०७६ चैत ३० गते आईतबार

कोरोना महामारीको बेलामा स्वास्थ्यकर्मीहरुलाई खुसी पारेर उनीहरुबाट काम लिनुपर्ने समय हो । तर मोरङको एउटा गाउँपालिकामा  स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार हुने गरेको घटना बाहिर आएको छ । ग्रामथान गाउँपालिका एउटा यस्तो स्थानीय निकाय हो जहाँ कनिष्ठलाई प्रमुख बनाएर वरिष्ठलाई विस्थापित गर्दा स्वास्थ्यकर्मीहरुबीचमा विवाद सिर्जना भएको छ ।

गाउँपालिका जनप्रतिनिधिहरुबीच गुटबन्दीमा विभाजित छन् । यसमा वडा अध्यक्षहरु प्रत्यक्ष रुपमा संलग्न देखिएका छन्  । गाउँपालिकामा विकास निर्माणको कामलाई अगाडि बढाएर जानुपर्ने जनप्रतिनिधिहरु विकासको वातावरण बिथोल्ने काममा लागेको आरोप लागेको छ ।

केही समयअगाडि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारी समायोजनको काम अगाडि बढायो । धेरै कर्मचारी सरुवा भएर धेरै ठाउँमा पुगे । कोही तोकिएको ठाउँमा जान पाएर सहजै गए । कोही जान मन नहुँदा नहुँदै पनि जानुपर्ने बाध्यता बन्यो ।

त्यही समायोजनमा परेर जिल्ला जनस्वास्थ्य कार्यालय मोरङबाट ग्रामथान गाउँपालिकामा हाजिर हुन जानुभएका सातौँ तहका जनस्वास्थ्य अधिकृत हुनुहुन्छ शेखरकुमार यादव । मन्त्रालयको गएको भदौ १३ गतेको निर्णयअनुसार ग्रामथान गाउँपालिकाको जनस्वास्थ्य अधिकृतमा उहाँ सरुवा हुनुभएको हो ।

मन्त्रालयले  समायोजन भएका कर्मचारीहरुलाई तोकिएको कार्यालयमा हाजिर हुन परिपत्र परेपछि उहाँ ग्रामथान गाउँपालिकामा हाजिर हुन जानुभयो । तर उहाँलाई प्रशासनले हाजिर हुन दिएन । किनभने त्यस गाउँपालिकामा छैटौँ तहसम्मको मात्र दरबन्दी रहेकोले सातौँ तहको जनस्वास्थ्य अधिकृत यादवलाई गाउँपालिकाले हाजिर गराउनै मानेन ।

गाउँपलिकाले गएको असोज १३ गते दरबन्दी नभएको पदमा कर्मचारी सरुवा भएर आएको भन्ने ब्यहोराको पत्र मन्त्रालयलाई पठाएको थियो । त्यसको जवाफमा मन्त्रालयले कात्तिक ७ गते पत्र लेखेर असोज १३ गतेको निर्णय नै कार्यान्वयन गर्न निर्देशन दिएपछि कार्यालयमा हाजिर हुन दिइएको थियो । यहीबाट नयाँ घटनाक्रम सुुरु भयो ।

गाउँपालिकाको बोर्ड बैठकले यादवलाई झोराहाट प्राथमिक स्वास्थ्य केन्द्रमा पठाउने निर्णय गर्यो । प्राथमिक स्वास्थ्य केन्द्र गाउँपालिका मातहत हुने भएकोले आफू सातौँ तहको जनस्वास्थ्य अधिकृतको रुपमा पालिकाको स्वास्थ्य संयोजककै रुपमा काम गर्न पाउनुपर्ने अडान लिएपछि विवाद देखिएको यादवले बताउनुभयो ।  प्राथमिक स्वास्थ्य केन्द्रमा जान नमान्नुभएका यादव गाउँपालिकाको कार्यालयमा हाजिर गरी दिनभरि बसेर फर्किनुहुन्थ्यो ।

सिअहेब राजकुमार झा कार्यालयमा पहिलादेखि काम गर्दै आउनुभएको कर्मचारी भएकोले वडा अध्यक्षहरुले उहाँलाई संयोजक बनाउनुपर्छ भन्दै लागेका थिए । वरिष्ठ कर्मचारी कनिष्ठको माताहतमा रहेर काम गर्नुपर्ने अवस्था आएपछि आफूलाई ठिक नलागेको जनस्वास्थ्य अधिकृत यादव बताउनुहुन्छ  । तर छैटौँ तहकोलाई स्वास्थ्य संयोजक बनाइयो र उनको मातहतमा यादव रहने भनेर नीति नियमविपरित उपाध्यक्ष र सबै वडा अध्यक्ष उभिए । यसमा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको सहमति थिएन ।

कार्यालय नियमित आउने र फर्किने गर्नुभएका यादवलाई चैत २२ गतेको अध्यक्षको निर्णयले कोरोना भाइरसको नियन्त्रण र रोकथामसम्बन्धी काम हेर्नेगरी यादवलाई गाउँपालिका कार्यालयमै बस्नेगरी पत्र दिइयो । तर यो सिअहेब झालाई चित बुझेन र उहाँले सबै वडा अध्यक्षलाई यो कुरा सुनाउनुभयो । त्यसपछि सबै वडा अध्यक्ष भेला भएर प्राथमिक स्वास्थ्य केन्द्रमा सरुवा गरेकोे पहिलेको निर्णय कार्यान्वयन नहुँदै पालिकाको कार्यालयमा बस्न नदिने भन्दै यादवको लागि बनाइएका टेबुल र कुुर्सी उहाँहरुले फालिदिएको कर्मचारीहरु बताउँछन् ।

चैत २४ गते आफूलाई भोलिदेखि कार्यालय नआउनू भन्दै वडा अध्यक्षहरुले हप्कीदप्की दिएको यादव बताउनुहुन्छ । ‘म सातौँ तहको अधिकृत हुँ । मलाई मेरो जिम्मेवारी राम्रोसँग थाहा छ,’ यादवले भन्नुभयो, ‘तर वडा अध्यक्षहरुले जे चाहे त्यही भयो र विधिको पालना भएन ।’  गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले नीति र विधिका कुरा गर्दा समेत वडा अध्यक्षहरुले नटेरेको कर्मचारीहरुको गुनासो छ ।

यस बारेमा प्रमुख प्रशासकीय अधिकृत होम पौडेलले सुरुदेखि नै समस्या देखिएको स्वीकार गर्नुभयो । पौडेलका अनुसार बोर्ड बैठकले यादवलाई प्राथमिक स्वास्थ्य केन्द्रमा पठाउने निर्णय गरेको थियो । तर त्यो निर्णय कार्यान्वयन हुन सकेको थिएन । वरिष्ठ नै प्रमुख हुनुपर्ने कानुनी व्यवस्था भएकोले वरिष्ठ कनिष्ठको माताहतमा बस्न नमिल्ने उहाँको भनाइ छ ।

गाउँपालिकाको घटनामा विभिन्न सङ्घसङ्गठनले पनि चासो लिएका छन् ।  स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण जनप्रतिनिधिहरुले नबनाएको भन्दै अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घ नेपालकी केन्द्रीय उपाध्यक्ष अन्जना पोख्रेलले नीति र विधिभन्दा कोही माथि नहुने बताउनुभयो । जनप्रतिनिधिले मिलाउनुपर्ने ठाउँमा बिगारेकोे आरोप लगाउनुहुँदै पोख्रेलले समस्याको समाधान तत्काल ननिकाले कानुनी रुपमा अगाडी बढ्ने चेतावनी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष शिवनारायण माझीले कोरोनाको महामारी अनुगमनको लागि स्वास्थ्य अधिकृत यादवलाई राखेको बताउनुभयो । तर वडा अध्यक्षहरुले थर्काएको र कार्यकक्षको कुर्सी समेत फालिदिएको भन्ने जानकारी आफूलाई पनि प्राप्त भएको अध्यक्ष माझीको भनाइ छ । ‘त्यतिखेर म कार्यालयमा थिइनँ । मलाई शेखरजी र केही कर्मचारीले त्यहाँको अवस्थाबारे जानकारी गराउनुभयो,’ माझीले भन्नुभयो, ‘वडा अध्यक्षहरुबाट दुव्र्यवहार भएको हो भने त्यो राम्रो होइन ।’

यादवलाई अध्यक्षले अनुगमनको लागि पालिकामा हाजिर भएर काम गर्न भन्नुभएको थियो । वडा नम्बर १ का अध्यक्ष नमोनारायण माझीसहितका केही वडा अध्यक्षले जनस्वास्थ्य अधिकृतको कार्यकक्षमा भएको कुर्सी फालेको र गाली गलौज गरेको आरोप लागेको छ ।

आफूबाहिर भएको बेलामा वडा अध्यक्षहरुले बोर्ड बैठक बसेर कनिष्ठलाई गाउँपालिकाको स्वास्थ्य संयोजक बनाई वरिष्ठ अधिकृतलाई प्राथमिक स्वास्थ्य केन्द्र पठाउनु गलत भएको अध्यक्ष माझीको भनाइ छ । अध्यक्ष माझीले आफ्नो बहुमत नभएकोले सबै विषय बोर्डको बैठकमा लगेर पास गर्ने गरिएको र विधिको कुरा गर्दा आफूलाई समस्यामा पार्ने गरिएको गुनासो गर्नुभयो । विधि र कानुन लत्याएर वडा अध्यक्षहरुले आफ्नो अनुकूलको निर्णय बोर्ड बैठकबाट गराउने गरेको कर्मचारीहरुको पनि गुनासो छ । उज्यालो अनलाईनबाट

Facebook Comments