Mon. Jan 13th, 2025

पाकिस्तानमा राजनीतिक समूहबीच सहकार्य हुने

इस्लामावाद, २०८० माघ २९ गते सोमबार । पाकिस्तानको चुनावमा जेलमा परेका पूर्व प्रधानमन्त्री इमरान खानका समर्थकहरू पहिलो स्थानमा आएपछि दोस्रो र तेस्रो राजनीतिक समूहबीच सहकार्य हुने भएको छ ।

चुनावपछि पूर्व प्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिग-नवाज ,पीएमएलएन र पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी ,पीपीपीले देशमा राजनीतिक स्थिरता ल्याउन मिलेर काम गर्ने योजना बनाएको बताएका छन् । उनीहरूले मिलेर सरकार गठन गरे भने खानका समर्थकहरू रुष्ट हुने सम्भावना रहेको बीबीसीले जनाएको छ ।

पूर्व प्रधानमन्त्री खानको पीटीआई पार्टीलाई चुनावमा भाग लिनबाट रोक लगाइएपछि उहाँका समर्थकहरुले स्वतन्त्र उम्मेदवारी दिएका थिए । पाकिस्तानको निर्वाचन आयोगले चार दिनअघि भएको चुनावको पूर्ण परिणाम घोषणा गरिसकेको छ ।राष्ट्रिय सभा (एनए) वा देशको संसद्को तल्लो सदनका लागि भएको चुनावको परिणामअनुसार स्वतन्त्र उम्मेदवारहरूले १०१ सिट प्राप्त गरेका छन् ।

पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टीले ७५ सिट प्राप्त गरेको छ भने पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीको पार्टीले ५४ सिट प्राप्त गरेको छ ।यस्तै, मुत्ताहिदा कौमी मुभमेन्ट-पाकिस्तानले १७ सिट, जमियत उलामा-ए-इस्लाम पाकिस्तानले चार सिट, पाकिस्तान मुस्लिम लिगले तीन सिट, इस्तेहकाम-ए-पाकिस्तान पार्टी र बलुचिस्तान नेशनल पार्टीले दुई-दुई सिट पाएका छन् ।

ई-मुस्लिमिन पाकिस्तान, पाकिस्तान मुस्लिम लिग (जिया-उल-हक शहीद), पश्तुनख्वा नेशनल अवामी पार्टी पाकिस्तान, बलुचिस्तान अवामी पार्टी, पश्तुनख्वा मिलि अवामी पार्टी र नेशनल पार्टीले एक-एक सिट पाएको छ । एजेन्सी

Facebook Comments