Sun. Apr 28th, 2024

देशका विभिन्न भागमा वर्षा र हिमपात, जनजीवन प्रभावित-फोटो फिचर सहित

रुकुम पूर्व भुमे गाउँपालिका-१ स्थित पहाडी भेगबाट गाउँ नजिक भेडीगोठ सार्दै रुकुम पूर्व लुकुमका स्थानीय भेडा पालक किसान। तस्बिर: कुलदीप न्यौपाने / रासस

काठमाण्डू, २०८० माघ १८ गते बिहीबार । आज देशका विभिन्न ठाउँमा हल्का बर्षा भएको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।

हुम्लाको सिमकोट विमानस्थललगायत आसपास क्षेत्रमा भएको हिमपात । तस्बिरःदाने बोहरा, रासस

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा हल्का वर्षा र हिमपात भएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा बर्षा र हिमपात भएसँगै किसान खुसी भएका छन । धेरैजसो ठाउँमा हिउँदको यो पहिलो वर्षा भएको हो । यसले हिउँदे बालीलाई राहत पुग्ने किसानको भनाइ छ । ढिलो गरी भए पनि हिमपात तथा वर्षा हुँदा हिउँदे बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान खुसी भएका हुन् ।

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अबरुद्ध भएपछी बिहीबार रुकुम पूर्वको सिमाना बगलुङमा अलपत्र अवस्थामा काठमाडौँबाट आएका गाडीहरु । तस्बिरः सर्जना कार्की / रासस

हिमपात र वर्षाले ठाउँठाउँमा सडक यातायात भने प्रभावित भएको छ । हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो । बाग्लुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको बाक्लो हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । पूर्वी रुकुमबाट काठमाण्डौ, पोखरा लगायतका ठाउँमा जाने गाडी ठप्प भएको निसीखोला गाउँपालिका-६ का नीरज घर्ती मगरले जानकारी दिनुभयो ।

रुकुम पूर्व भुमे गाउँपालिका-१ स्थित मध्यपहाडी सडक खण्डमा बिहीबार हिमपातका कारण सडक अवरुद्ध भएपछि हिउँ पन्छाईदै। तस्बिर: कुलदीप न्यौपाने / रासस

यस्तै हुम्ला, जुम्ला, बाजुरा लगायतका जिल्लामा हवाई उडान हुन सकेको छैन । हुम्लामा यो वर्ष तेस्रो पटक हिमपात भएको छ । काठमाण्डौ उपत्यकामा पनि मौसम बदली भएको छ ।

हुम्लाको सिमकोट बजार र आसपास क्षेत्रमा भएको हिमपात । तस्बिरःदाने बोहरा / रासस

आज राति पनि बाग्मती र कोशीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको छ । यसैबीच हिमपातका कारण जाजरकोट भूकम्पबाट पीडित भएकाहरू थप समस्यामा परेका छन् ।


म्याग्दीको रघुगङ्गा गाउँपालिकाको उमिधुरी हुँदै कुइनेखानी जाने हिउँले ढाकिएको बाटो भारी बोकेर हिड्दै सर्वसाधारण । हिमपात भएपछि यस क्षेत्रमा आवतजावत गर्न कठिनाई भएको छ । तस्बिरः कमल खत्री, रासस

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार पश्चिमी वायुको प्रभाव आज रातिसम्म रहने र फेरि पानी पार्न सक्ने अर्को प्रणाली भित्रिने सम्भावना रहेको छ । मध्य तथा पूर्वी तराईका थोरै ठाउँमा लागिरहेको हुस्सु अब कम हुने पनि उहाँको भनाइ छ ।

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अबरुद्ध भएपछी बिहीबार रुकुम पूर्वको सिमाना बगलुङमा अलपत्र अवस्थामा काठमाडौँबाट आएका गाडीहरु । तस्बिरः सर्जना कार्की / रासस
हुम्लाको सिमकोट बजार र आसपास क्षेत्रमा भएको हिमपात । तस्बिरःदाने बोहरा, रासस
मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसीकोट नगरपालिका-८ खोरखालीमा हिमपातले अबरुद्ध भएको सडकमा हिउँ हटाएर सुचारु गर्दै सुरक्षाकर्मी । तस्बिरः बलबहादुर ओली / रासस
Facebook Comments