Sun. Jun 14th, 2026

निर्यात व्यापार प्रवद्र्धनका लागि नीतिगत सुधार र विशेष बस्तुको उत्पादन आवश्यक

       

रमेश हतुवाली/काठमाण्डू, २०८० माघ १८ गते बिहीबार । समृद्धिका लागि निर्यात भन्ने नारालाई सार्थक रुप दिन स्थापना भएको निर्यात व्यवसायी महासंघ नेपालको चौथो साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको ठमेलमा एक भव्य समारोहबीच अर्थमन्त्री प्रकाशसरण महतले आज साँझ सो साधारण सभाको समुद्घाटन गर्नुभएको हो ।

समुद्धघाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री महतले नेपालको निर्यात व्यापारलाई उकास्न निर्यात व्यवसायी महासंघ नेपालको महत्वपूर्ण भूमिका हुनुपर्ने बताउनु भयो । अर्थमन्त्री महतले ब्यापारको नाममा अरुले उत्पादन गरेजस्तै बस्तुको उत्पादनको नक्कल गरे त्यसले कसैको पनि हित नहुने भन्दै निर्यात व्यापारलाई उकास्न छुट्टै सेवा र उत्पादनमा प्रार्थमिकताकासाथ लाग्नुपर्ने सुझाव दिनुभयो ।

नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले नेपालको आयात निर्यातलाई व्यवस्थित गर्न सीमास्थित चेकपोष्ट र भन्सारहरुमा क्वारेन्टायन प्रयोगशालाको स्थापना गर्नुपर्ने बताउनुभयो ।

मुख्य सचिव वैकुण्ठ अर्यालले कस्ता कस्ता बस्तुहरु उत्पादन गर्ने, कति उत्पादन गर्ने, त्यसको गुणस्तर कसरी कायम राखिरहने र उत्पादनको निरन्तरता हुने नहुने भन्ने कुरालाई निर्यात व्यवसायीहरुले गम्भिर रुपमा अध्ययन गर्नुपर्ने सुझाव दिनुभयो । निर्यात व्यापारको प्रवद्र्धन मार्फत मुलुकको अर्थतन्त्र उकास्न आवश्यक रहेको बताउनु हुँदै मुख्य सचिव अर्यालले निर्यात बढाउन नीतिगत रुपमा कुनै व्यवस्था गर्नु आवश्यक भए त्यसलाई पुरागर्न आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष शंकर प्रसाद पाण्डेले नेपालको निर्यात व्यापारमा विश्व परिस्थिती र कोरोना महामारीको ठूलो प्रभाव रहेको बताउनुहुँदै निर्यात व्यापार घाटामा रहेको जानकारी दिनुभयो । निर्यात व्यापारलाई उकास्न महासंघले स्थापनाकालदेखि नै विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको भन्दै अध्यक्ष पाण्डेले नेपालले व्यापार गर्दै आएका १ सय ५८ देशहरुमध्ये १ सय २८ देशसँगको व्यापार घाटामा रहेको बताउनु भयो । साथै अध्यक्ष पाण्डेले निर्यात बढाउन नयाँ लगानीलाई आकर्षित गर्ने नीति ल्याउनु पर्नेमा जोड दिनुभयो ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निर्यातमुखी उत्पादन र निर्यातका लागि सरकारले नगद प्रोत्साहन भन्दा पनि व्यवसायीहरुलाई नीतिगत रुपमै  प्रोत्साहन गर्नुपर्ने बताउन भयो ।

सांसद गणेश पराजुलीले नेपालको निर्यात व्यापार बढाउन नीतिगत रुपमै सुधारको आवश्यकता रहेको भन्दै नेपालको हुलाक सेवालाई व्यवस्थित गर्ने हो भने नेपाली उत्पादनलाई विश्व बजारमा सजिलै पुर्याउन सकिने बताउनु भयो । साथै निर्यात प्रवद्र्धनका लागि सम्बन्धित मन्त्रालयहरुमा प्रविधि युक्त विज्ञसमूहको डेक्स बनाउन सरकारलाई सुझाव दिनुभयो ।

समारोहमा सम्बन्धित बस्तुगत संघ अन्तरगतका सर्वोत्कृष्ट निर्यात गर्ने कम्पनीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा महासंघले प्रकाशित गरेको निर्यात स्मारिका, २०८० सार्वजनिक गरिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार