Sun. Apr 28th, 2024

बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छ : प्रधानमन्त्री   

काठमाण्डू, २०८० माघ १८ गते बिहीबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताउनुभएको छ । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपाईंहरूको साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिन्छ भन्नुभयो ।

राजर्षिजनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्तमान तस्वीर र भविष्य अन्तर्निहित हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शिक्षा पद्धतिलाई योगानुकूल परिस्करण गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । राष्ट्रको नेतृत्व गर्न योग्य जनशक्तिको उत्पादन आजको प्रमुख कार्यभार भएको उल्लेख गर्दै उहाँले शिक्षामा गुणात्मक सुधार ल्याउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको वर्तमान परिप्रेक्ष्यमा विश्वविद्यालयको नीति, पाठ्यक्रम, शिक्षा विधि, कार्यशैलीमा गुणात्मक सुधार गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, “नवप्रवर्तनमा आधारित प्रतिस्पर्धी शिक्षामा जोड दिनुपर्छ मेरो अपेक्षा त्यही छ ।”

विश्वविद्यालय स्थापनाको छोटो अवधिमा प्राविधिक विषयका चिकित्सा शिक्षा, व्यवस्थापन र कम्प्युटर प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गरेकामा आभार प्रकट गर्दै अपेक्षित सफलताका निम्ति क्रियाशील हुन प्रधानमन्त्रीले सुझाव दिनुभयो ।

विश्वविद्यालयको जग्गा र भवन पूर्वाधारको अभावमा झेल्नुपरेका कठिनाइ अर्थतन्त्रमा आउने सुधारसँगै क्रमशः सम्बोधन गरिने विश्वास पनि दिलाउँदै प्रधानमन्त्रीले विश्वविद्यालयका अन्य प्राज्ञिक कार्यक्रम व्यवस्थित तुल्याउन सरकारकोतर्फबाट गर्नुपर्ने नीतिगत र व्यवस्थापकीय सहयोगमा सहयोग गर्ने उहाँको सचिवालयले जनाएको छ ।
    
मधेस प्रदेश ज्ञान विज्ञानको केन्द्र    

यसैगरी सम्बोधनमा प्रधानमन्त्री दाहालले मधेस प्रदेशलाई ज्ञान विज्ञानको केन्द्र भएको पनि बताउनुभयो । प्रधानमन्त्री दाहालले राजा जनकले ज्ञानी ऋषिमुनीहरूसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “सङ्घीय संरचनाअन्तर्गत मधेस प्रदेशमा रहेको सम्पूर्ण मधेस प्रदेशलाई पुनःज्ञान विज्ञानको केन्द्रका रूपमा विकास गर्ने सरकारको नीति छ ।” ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यले राजर्षिजनकका नाममा विश्वविद्यालय खोलिनु प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको अगाध आस्था भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

विश्वविद्यालयको आवश्यकता र औचित्य बोध गर्दै नीतिगत र प्राज्ञिक मार्गदर्शन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “वर्तमान नेतृत्वले विश्वविद्यालयको गरिमा र प्राज्ञिक छवि निर्माणका निम्ति अनवरत पहल लिएको छ । यहाँहरूको अथक प्रयास, अटल प्रतिबद्धता, प्राज्ञिक कर्मका निम्ति आभार व्यक्त गर्दछु ।”  रासस

Facebook Comments