Sun. Apr 28th, 2024

शेयर बजार आज पनि १० अंकले वृद्धि

 काठमाण्डू, २०८० माघ १५ गते सोमबार । शेयर बजार आज पनि १० अंकले वृद्धि भएको छ । हिजो आइतबार १० अंक बढेर बन्द भएको शेयर बजार मापक नेप्से आज पनि त्यति नै अंक बढेर बन्द भएको हो । आज नेप्से परिसूचक १०.२६ अंक बढेर २१०४.७२ विन्दुमा पुगेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब ८३ करोडको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज तीनवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यूनियन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, बिन्ध्यबासिनी हाइड्रोपावर, अप्पर साङ्गे हाइड्रोपावर र समाज लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६० करोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, ङादी ग्रुप पावरको २३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हाथवे इन्भेष्टमेन्टको कारोबार रकम करिब १३ करोड रहेको छ ।

१३ उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक १.६४ प्रतिशतले बढेको छ भने जलविद्युत् उपसमूहको परिसूचक १.०८ प्रतिशतले वृद्धि भएको छ । बैंकिङ्ग, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक भने घटेको छ ।

Facebook Comments