Thu. Apr 18th, 2024

‘काठमाडौं बाहिर जान दुई दिन खुला गर्ने निर्णय भएको छैन’

काठमाडौं, २०७६ चैत २७ गते बिहीबार

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौँबाट शुक्रबार र शनिबार बाहिर जान खुला गर्ने कुनै निर्णय सरकारले नगरेको स्पष्ट पार्नुभएको छ । कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक पोखरेलले सामाजिक सञ्जालमा ट्वीट गर्दै भन्नुभएको छ, “उच्चस्तरीय समन्वय समितिको निर्णय भन्दै दुई दिन खुला गरिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।”

उहाँले भन्नुभएको छ, “सङ्क्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गम्भीरताका साथ महसूस गरी ‘वन्दावन्दी’ (लकडाउन) लाई जारी राखिएको हो । यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ ?” उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा हालै गर्नुभएको सम्वोधनमा समेत लकडाउनको आवश्यकतालाई गम्भीर रूपमा उठाइएको चर्चा गर्नुभएको छ ।

उहाँले नागरिकबाट समेत लकडाउनलाई त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु । सरकारले चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी लकडाउन घोषणा गरेको थियो । सरकारले अचानक गरेको लकडाउनका कारण कामविशेषले राजधानी आएकाहरुसमेत रोकिएका थिए ।

दैनिकजसो हजारौं मानिस हिँडेरै काठमाडौँ छाडिरहेका बेला दुई दिनलाई खुला गर्ने कि भन्ने विषयमा छलफल भएको जनाइएको छ । छलफल भएको विषयलाई निर्णय भनेर सञ्चार माध्यममा बाहिरिएपछि लकडाउनलाई कडाई साथ लागू गरिनुपर्ने भनेर प्रदेश सरकारले सामाजिक सञ्जाल मार्फत् नै दवाव दिएका थिए । सरकारले यसअघि एकअर्को गाउँपालिका, जिल्ला र प्रदेशको आवागमनलाई समेत निषेध गरिसकेको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments