Sun. May 12th, 2024

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्यमा ढुङ्गाना र चौधरी निर्वाचित   

बिहीबार राष्ट्रियसभा सदस्यको निर्वाचनमा अन्य (खुला) समूहबाट निर्वाचत आनन्दप्रसाद ढुङ्गानालाई बधाई दिँदै नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादव । तस्बिर: चन्दन ठाकुर, रासस

जनकपुरधाम, २०८० माघ ११ गते बिहीबार । राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत मधेस प्रदेशबाट दुई पदका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनतर्फका दुवै उम्मेदवार विजयी हुनुभएको छ ।  आज साढे ४ बजे सम्पन्न मतपरिणामअनुसार अन्य (खुला) समूहबाट नेपाली कांग्रेसका उम्मेदवार आनन्दप्रसाद ढुङ्गाना र महिला समूहबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पूजा चौधरी निर्वाचित हुनुभएको हो ।

बिहीबार राष्ट्रियसभा सदस्यको निर्वाचनमा विजयी भएपछि प्रमाणपत्र ग्रहण गर्दै अन्य (खुला) समूहबाट नेपाली काँग्रेसका नेता आनन्दप्रसाद ढुङ्गाना र महिला समूहबाट जनता समाजवादी पार्टी (जसपा) नेत्री पूजा चौधरी । तस्बिर :
चन्दन ठाकुर, रासस

निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले ढुङ्गानाले प्रदेशसभाबाट ६७ र पालिकाबाट दुई सय एक मत प्राप्त गर्नुभयो । प्रदेशसभा सदस्यको मतभार ५३ का आधारमा तीन हजार पाँच ५१ र पालिकाको १९ का आधारमा तीन हजार आठ १९ गरी ढुङ्गानाले जम्मा सात हजार तीन ७० मत प्राप्त गर्नुभयो ।

त्यसैगरी, चौधरीले प्रदेशसभाबाट ७६ र पालिकाबाट दुई सय पाँच मत गरी जम्मा सात हजार नौ सय २३ मतभार प्राप्त गर्नुभयो ।

नेकपा (एमाले) बाट खुलातर्फका उम्मेदवार कुमारी विजेता झाले प्रदेशसभाबाट २५ र पालिकाबाट ६१ गरी दुई हजार चार सय ८४, जनमत पार्टीका रामशङ्कर महासेठले प्रदेशसभाबाट १४ र पालिकाबाट चार गरी आठ सय १८ मतभार प्राप्त गर्नुभयो ।

त्यसैगरी, महिला समूहतर्फ एमाले उम्मेदवार उषादेवी थरुनीले प्रदेशसभाबाट २५ र पालिकाबाट ५९ गरी दुई हजार चार सय ४६ मतभार प्राप्त गर्नुभयो ।

यहाँ अन्यतर्फ पालिकामा एक मत र महिला समूहमा प्रदेशसभाका पाँच तथा पालिकाका दुई गरी आठ मत बदर भएका छन् ।

बिहान ९ देखि ३ बजेसम्म भएको निर्वाचनमा निर्वाचक मण्डलका तीन सय ७४ मतदातामध्ये तीन सय ७३ जनाले मतदान गरे पनि मतपेटिकामा तीन सय ७२ मातमात्र फेला परेका निर्वाचन अधिकृत गुरुङले जानकारी दिनुभयो ।

यहाँ जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा मतदान र मतगणनाको व्यवस्था गरिएको थियो । विजयी उम्मेदवारलाई निर्वाचन अधिकृतले आजै प्रमाणपत्रसमेत वितरण गर्नुभएको छ ।  रासस

Facebook Comments