Sat. May 18th, 2024

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीसँग एपिएफ क्लब विजयी

भैरहवा (रुपन्देही), २०८० माघ ११ गते बिहीबार ।  प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्र्तगत आज भएको खेलमा एपिएफ क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । एपिएफ क्लबले लुम्बिनीलाई सात विकेटले हराएको हो ।

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ४१ ओभर सवै विकेट गुमाएर एक सय ३३ रन बनाएको थियो । लुम्बिनीका लागि दिलशाद अलीले अविजित ३९ रन बनाउनु भयो । यस्तै मृणाल गुरुङले ३४ तथा विराट भण्डारीले २३ रन बनाउनु भयो । बलिङतर्फ एपिएफका रमेश कुर्मीले पाँच, भुवन कार्कीले तीन तथा रोहितकुमार पौडेल र मौषम ढकालले एक एक विकेट लिनुभयो ।

एक सय ३४ रनको विजयी लक्ष्य एपिएफ क्लबले २२ दशमलव तीन ओभरमा तीन विकेटको क्षतिमा प्राप्त ग-यो । एपिएफ क्लबका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ५२ रन बनाउनु भयो । यस्तै पुरन विकले अविजित ३३ तथा लोकेश बमले १६ रन बनाउनु भयो । बलिङतर्फ लुम्बिनीका मोहम्मद हुसेन, कृष्ण कार्की र इकलाख अहमद खाँले एक एक विकेट लिनुभयो । रमेश कुर्मी खेलको म्यान अफ दी प्लेयर घोषित हुनुभयो । समापन कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले राष्ट्रिय प्रतियोगिता काठमाण्डू बाहिर गर्न क्यान प्रतिबद्ध रहेको बताउनु भयो । भविष्यमा देशका अन्य शहरमा पनि प्रतियोगिता आयोजना गर्दैजाने उहाँले बताउनु भयो । रासस

Facebook Comments