Mon. May 6th, 2024

शेयर बजार मापक नेप्से आज २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा

भिओके समाचार/काठमाण्डू, २०८० माघ ७ गते आईतबार । साताको पहिलो कारोवार दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से सूचक आज २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा झरेको छ ।  आज कारोबार रकममा पनि गिरावट आई ७ अर्ब ६७ करोड ७७ लाख रुपैयाँको मात्र शेयर किनबेच भएको छ । गत बिहीबार ८ अर्ब बढीको शेयर कारोबार भएको थियो ।

आज हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ५६ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने हिमाल दोलखाको २२ करोड ९१ लाख र अपि पावरको २० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । समाज लघुवित्त र आँखु खोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेको छ भने हिमालयन लघुवित्तको ९.९४ प्रतिशतले बढेको छ । यता सिइडिबि हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ८.२७ प्रतिशतले घटेको छ भने मोलुङ हाइड्रोपावरको शेयरमूल्य ७.२६ प्रतिशतले घटेको छ ।

आज बैंक तथा वित्तीय संस्थाले प्रकाशित गरेका वित्तीय विवरणको प्रभाव शेयर बजारमा देखिएको छ । बैंकहरुले नाफा घटेको विवरण प्रकाशित गरेपछि शेयर बजारमा त्यसको असर देखिएको हो । आज २० वटा वाणिज्य बैंकले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । २० वाणिज्य बैंकमा १६ वटा वाणिज्य बैंकको नाफा घटेको छ भने ४ वटाको मात्रै बढेको छ । यसले गर्दा आज अधिकांश बैंकको शेयरमूल्य घटेको छ ।

आज कारोबारमा आएका १३ उपसमूहमा हाइड्रोपावर र अन्य उपसमूह बाहेक अन्य सबै उपसमूहको सूचक घटेको छ । जसमध्ये बैंकिङ्ग उपसमूह नै २.४२ प्रतिशतले घटेको छ । धेरै पूँजी भएका बैंकहरुको शेयरमूल्य घट्दा त्यसले नेप्से सूचकलाई नै नकारात्मक बनाएको छ ।

Facebook Comments