Sun. Jun 2nd, 2024

प्रधानमन्त्री प्रचण्ड भन्नुहुन्छ, “हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु सबैको हितमा”

काठमाण्डू, २०८० माघ ५ गते शुक्रबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु सबैको साझा हितमा रहेको बताउनुभएको छ ।

युगाण्डाको काम्पलामा आयोजित असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

“हिमालयको देशबाट आएको हुनाले यो महत्त्वपूर्ण सम्मेलनमा हिमालको विषयमा केही भन्नैपर्छ, हिमाल विश्वव्यापी जनसङ्ख्याको १५ प्रतिशत र पृथ्वीको जैविक विविधताको ५० प्रतिशतको घर हो । यसले सबै जीवित प्राणीलाई विश्वव्यापी सेवा प्रदान गर्दछ । तर उनीले ठूलो पीडा भोगिरहेका छन्”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

उहाँले हिमाली देश नेपालले हिमाल, हिमाली पारिस्थितिक प्रणाली र त्यहाँ बसोबास गर्ने जनताको संरक्षणका लागि वकालत गर्दै आएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको विनाशकारी प्रभावका कारण डरलाग्दो दरमा घट्दै गएको हिमनदीका स्वरुप र यसले कैयनको जीवन र जीविकोपार्जनमा ल्याउने अनगिन्ती पीडालाई नजिकबाट महसुस गरिएको बताउनुभयो ।

साझा समृद्धिका लागि अत्यन्त इमान्दारी सद्भाव, ऐक्यबद्धता र सहयोगका साथ काम गर्न आह्वान गर्दै प्रधानमन्त्री प्रचण्डले कसैलाई पनि पछि नछोडी न्यायपूर्ण, समतामूलक, शान्तिपूर्ण, दिगो र समृद्ध विश्व निर्माण गर्न ‘नाम’लाई बलियो बनाऔँ भन्नुभयो । रासस

Facebook Comments