Sun. May 5th, 2024

शेयर बजारमा सामान्य गिरावट

भिओके समाचार/काठमाण्डू, २०८० पुस २६ गते बिहीबार । साताको अन्तिम कारोबार दिन आज शेयर बजार सामान्य गिरावट अंक घटेर बन्द भएको छ । अघिल्ला ३ कारोबार दिनदेखि बढेको शेयर बजार मापक नेप्से परिसूचक आज ०.६२ अंक घटेर २०८८.९९ विन्दुमा झरेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ३० करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेप्से घटे पनि आज ८ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रोपावर, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी, हिमालयन रिइन्स्योरेन्स र मेगा म्युचुअल फण्ड १ को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

कारोबार रकमका आधारमा आज हिमालयन बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको २३ करोड ८५ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, नेपाल रिइन्स्योरेन्सको साढे १९ करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्सको करिब १६ करोडको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशतले घटेको छ ।

Facebook Comments