Fri. May 3rd, 2024

रूसको चुनावमा हस्तक्षेप गर्नेलाई कडा सजाय दिने पुटिनको चेतावनी

मस्को, २०८० मंसिर ३० गते शनिबार । आगामी वर्षको निर्वाचनमा विदेशी हस्तक्षेप भएमा यसको विरूद्धमा रूसले ‘कठोर’ कदम लिने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ । उहाँले विपक्षी नेताहले विदेशमा रहेर आफुविरूद्ध निर्वाचन अभियान चलाउनसक्ने सम्भावनालाई सङ्केत गर्दै विदेशमा बसी स्वदेशी अभियानलाई प्रभावित पार्न खोज्ने जोकोही पनि रूसी कानुनको कठघरामा उभिनुपर्ने चेतावनी दिनुभएको छ ।

संसदको तल्लो सदन डुमामा पार्टीका नेताहरूसँगको भेटमा पुटिनले भन्नुभयो, “रूसको आन्तरिक मामिलामा कुनै पनि हस्तक्षेपलाई रूसी कानुन अनुसार दण्डित र कठोर सजाय दिइनेछ ।”

उहाँले भन्नुभयो, “हामी हाम्रा जनताको स्वतन्त्रता, सार्वभौमिकता र आफ्नो भविष्य रोज्ने अधिकारको रक्षा गरिरहेका छौं । हाम्रो देशमा शक्तिको स्रोत केवल रूसका जनता मात्र हुन् ।”

गत वर्ष युक्रेनको युद्धभूमिमा पश्चिमा प्रतिबन्ध र असफलताको सामना गर्नुपरेका पुटिन सन् २०२३ को अन्त्यमा थप उत्साहित देखिनुभएको छ । पछिल्लो समय बहुचर्चित युक्रेनी प्रतिआक्रमणले रूसी रेखाहरू तोड्न असफल भएको छ, अर्थव्यवस्था सुधार भइरहेको छ, र कीभको लागि पश्चिमी समर्थन कमजोर भएको देखिन्छ, अमेरिकी कंग्रेस र युरोपेली सङ्घमा नयाँ सहायता कार्यक्रमहरू रोकिएका छन् ।

पुटिनले पछिल्लो समय युक्रेनी सैनिकलाई कैदीका रूपमा पक्राउ गर्ने क्रम ह्वात्तै बढेको बताउनुभएको छ ।

गत हप्ता उहाँले मार्च २०२४ को चुनावमा पाँचौं कार्यकालका लागि राष्ट्रपतिपदका लागि आफुले उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । प्रभावशाली विपक्षी नेताहरू जेलमा रहेकाले लगभग २५ वर्ष सत्तामा रहेका पुटिनलाई आफ्नो विजय यात्रा सहज बनेको छ ।

विशेष गरी भ्रष्टाचार विरोधी अभियानकर्ता एलेक्सी नाभाल्नीलगायत अधिकांश प्रमुख रूसी विपक्षी नेताहरू जेलमा थुनिएका छन् वा निर्वासित जीवन विताइरहेका छन् । एएफपी

Facebook Comments