Sat. Apr 25th, 2026

आज गोवर्द्धन पूजा, कृषि कर्मका सहयोद्धा हलीलाई पनि आज पूजिने

- हली तिहार

       

काठमाण्डू, २०८० कात्तिक २८ गते मंगलबार । नेपालीहरुको दोस्रो ठूूलो चाड तिहारको चौथो दिन अन्तर्गत आज हली, गोवद्र्धन, बली र गोरुको पूजाआराधना गरी मीठा मीठा परिकार खान दिएर गोरु तिहार मनाईँदैछ ।

कार्तिक शुक्ल प्रतिपदा अर्थात् आजका दिन आँगनमा हरियो गोबरले लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने परम्परा रहेको छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले, हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको शास्त्रीय मान्यता रहेको छ ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज हली, गोरु र गोवद्र्धन पर्वतको पूजा गरिन्दै, कृषिकर्ममा सहयोग गर्ने गोरुलाई मीठा मीठा परिकार खुवाउने प्रचलन ।।

भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज राजा बलि, कृषी कर्ममा सहयोग गर्ने हली र गोरुको सम्मान गर्दै पूजा आराधना गर्ने गरिन्छ । यसैकारण तिहारमा देउसी-भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन चलेको हो ।कृषि प्रधान देश नेपालमा वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई आज विशेष पूजाआजा गरी बाबर, रोटी, नून, पीठो लगायतका खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहनअर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ ।

यसैगरी वर्षभर गोरु जोत्ने हली र अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार