Sun. Apr 28th, 2024

हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बीमा

झापा, २०८० कात्तिक २४ गते शुक्रबार । जङ्गली हात्तीको पीडा खेप्दै आएको चार दशकपछि झापाको बाहुनडाँगीमा हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बीमा कार्यक्रम सञ्चालन गरिएको छ । हात्तीले जनधनको निरन्तर क्षति पुर्याउन थालेपछि पीडितलाई राहत दिलाउन मेचीनगर-४ मा जीवन बीमा र घर बीमाको थालनी गरिएको हो ।

शिखर इन्स्योरेन्ससँग गरिएको सम्झौताअनुसार कुनै घरमा हात्तीले क्षति पुर्याएमा बीमा कम्पनीबाट पीडित परिवारले न्यूनतम रु एक लाख ५० हजार क्षतिपूर्ति पाउने छन् । प्रतिघरधुरी बीमा गराउन वार्षिकरूपमा रु ९५ मात्र बीमा शुल्क लागेको छ । सबै घरको बीमा शुल्क वडा कार्यालयसँग भएको सहमतिअनुरुप बर्दियाको उज्यालो नेपाल नामक गैरसरकारी संस्थाले तिरिदिएको वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो ।

भारतको आसामबाट हात्ती आउने नेपालको सीमावर्ती पहिलो क्षेत्र नै बाहुनडाँगी हो । विगतमा अलग्गै गाविस रहेको बाहुनडाँगी हाल मेचीनगरअन्तर्गत पर्छ । बाहुनडाँगीका चार वडामध्ये सबैभन्दा बढी पीडा खेपिरहेको वडा नं ४ बाट बीमा सुरु गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो । वडाका सबै परिवारलाई घर बीमामा समावेश हुन वडा कार्यालयले आह्वान गरेको थियो । तर वडाका कुल एक हजार तीन सय दुई परिवारमध्ये छ सय ५९ मात्र बीमामा समावेश हुन आएको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

“कुनै पनि परिवार नछुटुन् भनेर सबै वडावासीलाई बीमामा समावेश हुन आह्वान गरेका थियौँ”, उहाँले भन्नुभयो, “तर कतिपय कागजात वडा कार्यालयमा बुझाउनै आउनुभएन । जो-जो सम्पर्कमा आउनुभयो, उहाँहरूको घरको बीमा गरेका छौँ ।” छुट भएका घरलाई पछि समावेश गरिने उहाँले बताउनुभयो ।

राससका अनुसार वडा कार्यालयकै पहलमा हात्ती नियन्त्रणका लागि परिचालित २५ स्वयंसेवकको समेत जीवन बीमा गरिएको छ । ती स्वयंसेवकलाई गाउँमा आएको हात्ती धपाउन रेपिड रेस्पोन्स टिम (आरआरटी)को रूपमा तालिम दिएर खटाइएको वडाध्यक्ष कार्की बताउनुहुन्छ ।

हात्ती धपाउने कार्य रातभर जाग्राम बसेर गर्नुपर्ने र कुनै पनि बेला आक्रमणमा परिने जोखिम भएकाले आरआरटीका युवाको रु पाँच लाखको जीवन बीमा गरिएको उहाँले जानकारी दिनुभयो । बाहुनडाँगीमा परिचालित आरआरटीमा नेपालका २५ र भारतका १५ युवा आबद्ध छन् । गत वर्षदेखि हात्ती नियन्त्रणमा युवाको उक्त समूहलाई परिचालन गर्न थालिएको हो ।

Facebook Comments