Sat. Apr 27th, 2024

अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख

मुगु, २०८० कात्तिक २४ गते शुक्रबार । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप रु एक लाख उपलब्ध गराएको छ । छाँयानाथ रारा-१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका-४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि उक्त जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो ।

कामी र बुढाले गत वर्ष माघमा विवाह गरेका थिए । छायाँनाथ रारा नगरपालिकाले १२औँ नगरसभामा अन्तरजातीय विवाह गर्ने जोडीलाई रु एक लाख प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो । नगरपालिकाको १२औँ नगरसभाले आर्थिक वर्ष २०७९/८० देखि लागू हुने गरी नगरपालिकाभित्र अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन रकम दिने निर्णय गरिएको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिनुभयो ।

“यस्तो प्रोत्साहनले समाजमा जातीय विभेद कम गर्न सहयोग पु-याउँछ”, नगरप्रमुख भामले विश्वास व्यक्त गर्नुभयो- “यस्तो कार्यक्रम देशका अन्य स्थानीय तहले पनि ल्याउन जरुरी छ ।” रासस

Facebook Comments