Tue. Apr 30th, 2024

यसरी मनाए कलाकारले दशैँ  

काठमाण्डू, २०८० कात्तिक ८ गते बुधबार । विजयादशमी कलाकारले धुमधामले मनाएका छन् । अभिभावकबाट बडादशैँको टीका ग्रहण गरिएका तस्बिर कलाकारले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेका छन् ।

हास्य कलाकार हरिवंश आचार्यले पत्नी, छोरा र बुहारीलाई टीका लगाइदिनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत टीकाको तस्बिर सार्वजनिक गर्दै आपसी सद्भाव बढाउने पर्वको रूपमा बडादशैँलाई लिएको बताउनुभयो । दशैँलगत्तै ‘महाजात्रा’ को छायाङ्कनमा जानुपर्ने भएकाले पनि दशैँलाई आफन्तसँगको भेटघाटको रुपमा मनाइरहेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी अभिनेता अनमोल केसीले पिता तथा अभिनेता भुवन केसीको हातबाट टीका र जमरा लगाउनुभएकोे छ । सपरिवार टीका ग्रहण गरेको जानकारी गराउँदै उहाँले दशैँलगत्तै ‘फर्की फर्की’ नामक चलचित्रमा काम गर्ने बताउनुभयो ।

यो दसैँ अभिनेता तथा मोडल पल शाहका लागि पनि महत्वको भएको छ । उहाँले अघिल्लो वर्ष टीका लगाउन नपाइएका कारण यो वर्षको दसैँ परिवारसँग बसेर मनाइरहेको बताउनुभयो ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता तथा निर्देशक निर्मल शर्मा, अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता जितु नेपालले पनि आफ्ना मान्यजनबाट टीका ग्रहण गर्नुभएको छ । अभिनेत्री वर्षा राउतले पनि आफ्ना पति तथा अभिनेता सन्जोग कोइरालासँग सिन्धुली पुगेर टीका ग्रहण गर्नुभएको छ ।

यस्तै आमाबाट टीका र जमरा ग्रहण गर्नुभएका हास्य कलाकार शिवशङ्कर रिजालले भन्नुभयो, “तराई गएर अन्य मान्यजनबाट पनि टीका ग्रहण गर्नेछु । मेरो दशैँ तराई र काठमाण्डूमा बराबर हुँदै आएको छ ।”

यसैगरी अभिनेता सलिनमान बनियाँ, अभिनेत्री स्वेता खड्का र ऋचा शर्मा, अभिनेता रवीन्द्रसिंह बानियाँले पनि आफ्ना मान्यजनबाट टीका ग्रहण गर्नुभएको छ ।

अभिनेता खगेन्द्र लामिछानेले आफूद्वारा निर्मित तथा लिखित चलचित्र ‘पशुपति प्रसाद-२ : भष्मे डन’ प्रदर्शनरत रहेकाले काठमाण्डू उपत्यकाको विभिन्न चलचित्र भवनमा पुगेर दर्शक भेट्ने जानकारी दिनुभयो । “यो पटक स्याङ्जास्थिचत घर जान नपाए पनि दर्शकसँग साक्षात्कार गर्दै दशैँ मनाईरहेको छु”, उहाँले भन्नुभयो ।

दशैँलाई एकता, भ्रातृत्व र प्रेमको रूपमा लिइने गरिएका कारण सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने गरिएको कलाकारले जानकारी गराए । रासस

Facebook Comments