Sat. May 18th, 2024

तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरुबीचको एकताको अभियान : प्रधानमन्त्री प्रचण्ड

रुकुम, २०८० कात्तिक ९ गते बिहीबार । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले शुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरुबीचको एकताको अभियान पनि रहेको बताउनुभएको छ ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-६ मग्गामा आज आयोजित शहीद स्मृति मेलाको उद्घाटन गर्नुहुँदै उहाँले अब माओवादीबाट फुटेर गएका दलहरुकाबीच एकता आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सुुरुमा आफुहरु ठूलो पार्टीको रुपमा उदाएको भएपनि विगतमा फरक-फरक बाटोतिर लागेको भन्दै क्रान्ति गर्ने बेला जुन किसिमको प्रतिबद्धता जनता सामु गरेको थियो त्यो पुरा हुन नपाउँदै पार्टी फुुटेको कुरा उल्लेख गर्नुभयो । उहाँले केही साथीहरु फरक बाटोमा लागेको भए पनि अझै केही नबिग्रिएको भन्दै माओवादी शक्तिहरु पुनः एक हुनुपर्ने बेला आएको प्रस्ट पार्नुभयो ।

हाल विद्यमान रहेको समाजवादी मोर्चा नै भोलि पार्टी एकताको बाटोमा जाने भन्दै प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चाको अभियानको सार्थकता भनेकै माओवादी घटक र अन्य विचार मिल्ने पार्टीहरुको एकता भएको पनि प्रस्ट पार्नुभयो । प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार पाँच वर्ष नै टिक्ने दाबी समेत गर्नुभयो । उहाँले यो सरकार निकै बलियो सरकार भएको पनि बताउनु भयो । कोशी प्रदेशमा केही तलमाथि हुँदै गर्दा गठबन्धनकाविरुद्ध लागेको पनि देखिएको तर अन्तिममा कोशी प्रदेशमा पनि गठबन्धकै सरकार बन्ने प्रचण्डको भनाइ छ । सरकार ढाल्न र गठबन्धन फुटाउने तर्फ केही दल लागिपरेको उहाँले आरोप लगाउनुभयो ।

सरकारले पछिल्लो समय सामाजिक न्यायको लागि विभिन्न भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दलहरु सरकार ढाल्ने प्रयासमा रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले नेपालको राष्ट्रिय स्वतन्त्रताको कुरालाई सरकारले सधैँ अघि राखेर छिमेकी राष्ट्र र अन्य राष्ट्रहरुसँगको कूटनीतिकसम्बन्ध सुदृढ बनाउन सफल भएको बताउनुभयो । वर्तमान सरकार गठन भएपछि सामाजिक न्यायको पक्षमा धेरै राम्रा काम भएको उहाँले बताउनुभयो । रासस

Facebook Comments