Sat. Apr 25th, 2026

बडा दशैंको आठौं दिन आज महाष्टमी पर्व

       

काठमाण्डू, २०८० कात्तिक ५ गते आईतबार । आज हिन्दुहरुले दुर्गा भवानीको विशेष पूजाराधना गरी महाअष्टमी पर्व भव्य रुपमा मनाउँदै छन् ।

बडादशैंँको आठौं दिनआज महाकाली, महालक्ष्मी, महासरस्वती र महागौरीको विशेष पूजाआराधना गरिन्छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।

आजको दिनशास्त्र सम्मत रुपमा दशैंँघर, कोत लगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलिदिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ। दुर्गा सप्तशती र देवीस्तोत्र पाठ गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलिदिनाले तीपशुले मोक्ष प्राप्त गर्ने कुरा शास्त्रमा वर्णन गरिएको नेपालपञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउनुभएको छ ।

आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको धर्मशास्त्र विद्को भनाइ छ। यसैकारण आजको दिन विधिपूर्वक पशुबली दिइने गरिएको हो ।

आजैका दिन राति कालरात्रि पशुबलिको विधि र पूजाआराधना सहित मनाइन्छ। कालरात्रिको पूजाविधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ ।

आजका दिन काठमाण्डू उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्सालभगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरमा पनि बलिसहितपूजाआजा गर्ने गरिन्छ ।

आजको दिन कलपुर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएका स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ। यी साधनलाई देवीको शस्त्रास्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो।

महाष्टमीका दिन राति हनुमानढोकाको दशैंँघरमा राज्यकातर्फबाट ५४ वटा बोका र ५४ वटा राँगाको बलिसहित कालरात्रि पूजा गर्ने प्रचलन रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार