Tue. Apr 30th, 2024

यस्तो रह्यो ‘मदनकृष्ण मूड’, तस्वीरहरू

- मदनकृष्णको स्वास्थ्यलाभको कामनासहित पारिवारीक प्रस्तुती

काठमाण्डू, २०८० असोज २० गते शनिबार । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ परिवारसहित ‘मदनकृष्ण मुड’मा प्रस्तुत हुनुभएको छ । सिस्नुपानी नेपालको आयोजना र पाठशाला नेपालको सहकार्यमा शुक्रबार थापागाउँस्थित पाठशाला स्कुलको मदनकृष्ण नाट्यशालामा उहाँले प्रस्तुती दिनुभएको हो ।

श्रेष्ठको स्वास्थ्यलाभको कामना र पारिवारिक सांगीतिक साधनाको प्रस्तुतीमा उहाँले आफ्ना हिट र कालजयी गीतहरू प्रस्तुत गर्नुभएको थियो । पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र डा.बाबुराम भट्टराई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत संवैधानिक अंगका विशिष्ट व्यक्ति, डा. सन्दुक रुइतलगायत अन्य व्यक्तिहरू श्रेष्ठका गीत सुन्न प्रेक्षालयमा उपस्थित हुनुभएको थियो ।

सो अवसरमा श्रेष्ठले आफ्ना चर्चित गीतहरू अरबौं मान्छेहरूमा, खोलावारी खोलापारी, एउटै सपना छ, हे भगवान, फूलबुट्टे सारी लगायतका गीतहरू प्रस्तुत गर्नुभएको थियो । श्रेष्ठलाई साथ दिन मञ्चमा उपस्थित उहाँका छोरा यमन श्रेष्ठले एउटै लक्ष्यको बाटोमा, सेल्फी गीत प्रस्तुत गर्नुभयो ।

यस्तै छोरी सराना श्रेष्ठले ती जून जस्तै, एकतर्फी माया न हो जस्ता कालजयी गीत प्रस्तुत गर्नुभयो। तीनै जनाले सय थरी बाजा गीत सामूहिक प्रस्तुत गर्नुभयो। उहाँहरूलाई वाद्यवादनमा भूपेन्द्र रसाइली, कृष्ण लिम्बु, प्रविण श्रेष्ठ, वैभवविक्रम परियार र मिलन घिमिरेले साथ दिनुभएको थियो ।

उहाँलाई सुन्न देशका विभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तिहरू हलमा उपस्थिति थियो। हलभित्र नअटाएका दर्शकले बाहिर डिस्प्लेमा कार्यक्रमलाई नियालेका थिए।

कलाकार श्रेष्ठको जन्म वि.सं. २००७ साल वैशाख ७ गते काठमाण्डूमा भएको हो। उहाँ रामकृष्णलाल श्रेष्ठ र लक्ष्मीका एक्ला छोरा हुनुहुन्छ।

उहाँले सुख दुखु, वासुदेवु, के घर के डेरा लगायत दर्जनौ फिल्ममा अभिनय गर्नुभएको छ । हजारवटा जति टेलिफिल्ममा खेल्नु भएको छ। विज्ञापन नाटक सयौंपटक प्रहसन गर्नुभएको छ । पञ्चायतको श्राद्ध, अभिभावक, पिकनिक, गाउँखाने कथा-२, अभिनन्दन, लालपुर्जालगायत थुप्रै कार्यक्रम गर्नुभएको छ । जनचेतना जगाउने काममा उहाँको अभूतपूर्व योगदान छ। त्यसैले त उहाँ अब्बल कलाकारसहित अब्बल गीतकार र गायक पनि हुनुहुन्छ ।

समारोहको संचालन सरोज घिमिरेले गर्नुभएको थियो भने सांगीतिक साँझमा लक्ष्मण गाम्नागे, टंक आचार्य, चक्र दवाडीले सहजीकरण गर्नुभएको थियो ।

Facebook Comments