Fri. Apr 19th, 2024

नेपालका विस वटा हाइड्रो पावरमा बंगलादेशको चासो

काठमाडौं, २०७६ कात्तिक ६ गते ।

बंगलदेशले नेपालका कम्तीमा २० वटा जलविद्युत् आयोजनामा लगानी गर्ने इच्छा देखाएको छ। मंगलबारदेखि सुरु भएको नेपाल–बंगलादेश प्राविधिक समितिको बैठकमा उनीहरूले यस्तो इच्छा प्रकट गरेका कान्तिपुर अनलाइलने लेखेको छ।

‘बैठकमा कार्गो, खाद्य वस्तुलगायत हाइड्रो पावरसम्मको छलफल भयो,’ बैठकमा सहभागी एक नेपाली अधिकारीले भने, ‘करिब २० हाइड्रो पावरमा लगानी गर्न इच्छा देखाएका छन्। यस विषयमा ऊर्जा मन्त्रालयसँग थप छलफल गरेर अगाडि बढ्न सकिन्छ,’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सहसचिव एवं नेपाली प्रतिनिधिमण्डलका नेता नवराज ढकालले भन्नुभयो।

यस सम्बन्धमा जलविद्युत सम्बन्धी सचिवस्तरीय समितिबाट टुंगो लगाउने सहमति भएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार दुई मुलुकबीचको कार्गो ट्रान्जिटमा सहजता, मोटर भेइकलको सन्दर्भमा छलफल भएको छ। यसको अर्थ यात्रुवाहक सवारीहरू आतेजाते गर्ने व्यवस्था हो। सामग्री ढुवानीका क्रममा बिनाअवरोध सञ्चालनको व्यवस्था मिलाउने छलफल भएको छ।

उहाँका अनुसार हाल पारवाहन सन्धिअनुसार नेपालको ट्रक भारतको बोर्डरसम्म जान्छ। तर, बंगलादेशको ट्रक बोर्डरसम्म जान पाउँदैन। त्यसमा बंगलादेशले सहजीकरण गर्नुपर्ने चासो राखेको छ। यीबाहेक विभिन्न पाँच वटा एमओयूमा पनि छलफल भएको सहसचिव ढकालले बताउनुभयो। जसअन्तर्गत कृषि, खाद्य वस्तु तथा व्यापारसम्बन्धी छन्। गैरभन्सार अवरोधको विषयमा छलफल भएको जनाएको छ। हाल अलैंची र धागो निर्यातको सम्भावना भए पनि निर्यात सुविधा छैन। ती उद्योग प्रवर्द्धन गर्ने विषयमा पनि छलफल भएको छ।

धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानका अनुसार बंगलादेशमा पर्याप्त सम्भावना भए पनि निर्यात भएको छैन। बंगलादेशले काँकडभिट्टाबाट निर्यात गर्न रोक लगाएको छ। जसले गर्दा करिब १५ वर्षदेखि निर्यात हुन सकेको छैन। ‘पोलिस्टर र सेन्थेटिकको माग उच्च छ,’ अध्यक्ष गोल्यानले भन्नुभयो, ‘निर्यात गर्न पाएका छैनौं।’ बंगलादेश निर्यात खुलेको एक वर्षमा ५ अर्बको निर्यात गर्न सकिने उहाँले बताउनुभयो। ‘धागोको बजार छ। उत्पादन पनि पर्याप्त छ,’ गोल्यानले भन्नुभयो, ‘निर्यात अवरोध हटे नेपालको उत्पादन थप विस्तार हुन्छ। एक वर्षमै ५ अर्ब निर्यात गर्न सक्छौं।’ छलफलका क्रममा बंगलादेशमा अभाव हुने कृषि सामग्री नेपालबाट पठाउने पनि सहमति भएको छ।

‘वर्षाको समयमा नेपालको तुलनामा बंगलादेशमा मूल्य बढ्छ। त्यस्तो अवस्थामा नेपालबाट व्यवस्था गर्न छलफल भयो,’ ढकालले भन्नुभयो। एक अर्काका मुलुकमा हुने व्यापार मेलामा सहभागी जनाउने र वस्तु प्रवर्द्धन गर्ने पनि सहमति भएको छ। विद्यार्थीका लागि भिसा प्रोसेसिङको क्रममा पनि सहजीकरण गर्ने विषयमा पनि छलफल भएको छ। ढकालका अनुसार छलफल सकारात्मक भए पनि टुंगोमा भने पुगिसकेको छैन।

बुधबार थप छलफल गरेर टुंगोमा पुग्ने बताउनुभयो। बैठकमा सहभागी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना वैद्यले खाद्य सुरक्षाको सन्दर्भमा एमओयूको तयारी भएको बताउनुभयो। उहाँका अनुसार २०१७ बंगलादेशमा भएको छलफलमा पनि फुड सेफ्टी रेगुलेटरी एजेन्सीसँग एमओयू गर्ने छलफल भएको थियो। अहिले तयार छ। मन्त्रिपरिषद्बाट पनि स्वीकृत भइसकेको उहाँले बताउनुभयो। ‘जनवरीमा हुने सचिवस्तरीय बैठमा हस्ताक्षर हुनेछ,’ उहाँले भन्नुभयो।

वैद्यका अनुसार बैठकमा एक अर्काको प्रयोगशालालाई मान्यता दिने विषयमा पनि छलफल भएको छ। प्रयोगशालाका सम्बन्धमा सूचना आदानप्रदान र प्लान्ट क्वारेन्टाइनको सन्दर्भमा पनि छलफल भएको छ। ‘सम्झौता हुँदा नेपालमा परीक्षणपश्चात् वस्तु निर्यात गर्दा बंगलादेशले मान्यता दिनुपर्छ। बंगलादेशको वस्तुलाई हामीले पनि मान्यता दिनुपर्छ,’ उहाँले भन्नुभयो। उहाँका अनुसार जुस आयतमा लगाइएको रोक सन्दर्भमा बंगलादेशी प्रतिनिधिले प्रश्न गरेका थिए। जुसमा बंगलादेशी व्यापारीले समस्या बेहोर्नु परेको उनीहरूले जनाएका थिए। ‘रोकले बंगलादेशलाई अप्ठ्यारो पर्‍यो। जुस निर्यात गर्न सकेनौं भन्ने प्रश्न उठाए,’ उहाँले भन्नुभयो। २०१७ मा बंगलादेशमा भएको थियो। अहिले नेपालमा सुरु भएको हो। प्राविधिक समितिको बैठकमा बंगलादेशबाट सरिफा खानाको नेतृत्वमा ७ सदस्य सहभागी छन्।

नेपालतर्फ सहसचिव ढकालको नेतृत्वमा १५ सदस्य सहभागी छन्। वैद्यका अनुसार जनवरीमा हुने वाणिज्य सचिवस्तरीय बैठकको तयारीका लागि प्राविधिक समितिको बैठक बसेका हो।

Facebook Comments