Fri. Jan 10th, 2025

शेयर बजार र कारोबार दुवैमा गिरावट

भिओके समाचार/काठमाण्डू, २०८० असोज १८ गते बिहीबार । साताको अन्तिम कारोबार दिन आज शेयर बजार घटेर बन्द भएको छ । हिजो ९.२४ अंक बढेको शेयर बजार मापक नेप्से परिसूचक आज ११.०४ अंक घटेर १०५६.९२ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो १ अर्ब १८ करोडको शेयर खरिदबिक्री भएकोमा आज १ अर्ब १० करोड ६५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आज बाराही हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.३० प्रतिशत बढेको छ । त्यसैगरी,  इष्टर्न हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने हिमालयन लघुवित्तको शेयरमूल्य करिब ८ प्रतिशत वृद्धि भएको छ । इन्फिनिटी लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.९४ प्रतिशत घटेको छ भने मध्यभोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ४ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, नबिल बैंक, सोल्टी होटल, सन नेपाल लाइफ र हिमालयन लघुवित्तको ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक घटेको छ भने एउटा उपसमूहको परिसूचक बढेको छ । आज म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२४ प्रतिशत बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशत घटेको छ ।

Facebook Comments