Sat. May 4th, 2024

नइ प्रकाशनका पाँच कृति लोकार्पण

भिओके समाचार/काठमाण्डू, २०८० भदौ २४ गते आइतबार । वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक शङ्कर गिरीले नइ प्रकाशनबाट प्रकाशित पाँच वटा कृतिको काठमाडौँमा आज लोकार्पण गर्नुभएको छ ।

इन्दिरा प्रसाईद्वारा लिखित ‘बघेनी’ नामक प्रयोगवादी कथासङ्ग्रह लगायत सुनीता कार्कीको ‘साथ रहोस् नरहोस्’, भगवती बस्नेतको ‘विश्वम्भरा’, ओमकुमारी बञ्जारा रानाभाटको ‘ऋतु’ र रश्मि रिमालबाट रचित ‘पर्दाभित्र’ कवितासङ्ग्रहरु आज लोकार्पण भएका कृतिहरू हुन् ।

वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा समालोचक प्रा.केशव सुवेदीले लोकार्पित कृतिहरुको समीक्षात्मक मन्तव्य प्रस्तुत गर्नुभएको थियो । समारोहमा कविताकृतिका नारीस्रष्टाहरुले कविता वाचन गर्नुभएको थियो ।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाई तथा कार्यक्रम संयोजक भगवती बस्नेतले नवकृतिहरु र संस्थाको प्रगतिबारे मन्तव्य प्रकट गर्नुभयो ।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईबाट फाउन्डेसन भवनको प्राङ्गणमा रहेको नेपाली साहित्यका विश्व नारी रत्न डा. वानीरा गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण गरिएपछि कार्यक्रम आरम्भ भएको थियो ।

Facebook Comments