Sun. May 19th, 2024

स्वास्थ्यमन्त्री बस्नेत र राजदूत सोङबीच भेटवार्ता

काठमाण्डू, २०८० भदौ १७ गते आईतबार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चीनका राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगामी चीन भ्रमणलाई मध्यनजर गर्दै उहाँहरुबीच आज स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिनुभयो ।

भेटवार्तामा मन्त्री बस्नेतले चीन सरकारबाट तातोपानी नाकालाई व्यवस्थित बनाउने, भक्तपुरमा वीर अस्पताल विस्तार गर्नेलगायतका विषयमा कुराकानी गर्नुभएको थियो ।

चीन सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै मन्त्री बस्नेतले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासका लागि सहयोगको माग गर्नुभयो । उहाँले देशभर गुणस्तरीय स्वास्थ्य सेवाको विस्तार, स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माण, आधुनिक एवं अत्यावश्यक स्वास्थ्य उपकरणका लागि सहयोगको माग गर्नुभयो ।

राससका अनुसार मन्त्री बस्नेतले चीन सरकारको आर्थिक, प्राविधिक सहयोग तथा सहकार्यप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । साथै मन्त्री बस्नेतले भक्तपुरको दुवाकोटमा विस्तारका क्रममा रहेको वीर अस्पतालका लागि भौतिक संरचना निर्माणमा चीनबाट सहयोगको अपेक्षा राखेको पनि बताउनु भयो ।

राजदूत छन् सोङले चीन सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।

Facebook Comments