Sat. May 18th, 2024

प्रधानमन्त्री प्रचण्डद्वारा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को सुरुवात

काठमाण्डू, २०८० भदौ १६ गते शनिबार । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को सुरुवात गर्नुभएको छ । प्रधानमन्त्री दाहालले माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट पार्टीको तीन महिने अभियानको भर्चुअल रूपमा उद्घाटन गर्नुभएको हो ।

अभियान उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले अभियानका क्रममा जनताका घरदैलोमा पुगेर उनीहरूका समस्या सुन्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले माओवादीको जनतासँगको सम्बन्ध कमजोर भएकाले आफ्ना कमीकमजोरीप्रति आत्मालोचित हुँदै अब सुध्रिने वाचा गर्न पनि कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।

मन्तव्यका क्रममा प्रचण्डले भन्नुभयो, “जनता समृद्धि चाहन्छन्, र, जनता सुशासन चाहन्छन्। अनि योसँगै हामीले जनतालाई विश्वास दिलाउनुपर्दछ– नेपाली समाजको परिवर्तन र रूपान्तरण माओवादीले नै गर्नसक्छ। माओवादीकै नेतृत्वमा मात्र समृद्ध नेपाल सम्भव छ। तसर्थ कमरेडहरू जनतासँग हामीले भन्न सक्नुपर्छ– हाम्रा गल्ती-कमजोरीका लागि आत्मालोचित हुन चाहन्छौँ। सुध्रिन चाहन्छौँ। त्यसका लागि अभियानसहित तपाईंहरूको घरदैलोमा छौँ।”

Facebook Comments