Sat. May 4th, 2024

संविधानले दिएका साझा अधिकार परिभाषित गर्न मुख्य न्यायाधिवक्ताहरुको माग

मधेश प्रदेश राजधानी जनकपुरधाममा आयोजित मुख्य न्यायाधिवक्ताहरुको अनुभव आदानप्रदान तथा चौथो राष्ट्रिय सम्मलेनपछि नौ बुँदे जनकपुर घोषणापत्र जारी गर्नुहुँदै मुख्य न्यायाधिवक्ताहरु । आज सम्पन्न सम्मेलनमा कोशीवाहेक ६ प्रदेशका मुख्य न्यायाधिवक्ताहरु क्रमशः मधेश प्रदेशबाट वीरेन्द्रकुमार ठाकुर, सुदूरपश्चिमबाट कुलानन्द उपाध्याय, कर्णालीबाट नरबहादुर खड्का, लुम्बिनीबाट प्रा डा बुद्धबहादुर थापा क्षेत्री, गण्डकीबाट चिरञ्जीवी शर्मा पौडेल र बागमतीबाट ज्ञानेन्द्र नेपाल सहभागी हुनुहुन्थ्यो । तस्बिरः टीकाराम सुनार, रासस

जनकपुरधाम, २०८० असार २४ गते आईतबार । मुख्य न्यायाधिवक्ताको चौथो राष्ट्रिय सम्मलेनले नेपालको संविधानको अनुसूची ७ र ९ मा रहेका साझा अधिकारका विषय तत्काल परिभाषित गर्न माग गरेको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित दुईदिने सम्मेलनले नौ बुँदे घोषणापत्र जारी गरी संविधानमा रहेका साझा अधिकारसँग सम्बन्धित विषय परिभाषित गरी तीनै तहको अधिकारका सीमा स्पष्ट गर्न माग गरेको हो ।

सम्मेलनले मुख्य न्यायाधिवक्ताका अधिकार सुनिश्चित गर्न संविधान संशोधन र आवश्यक कानुन निर्माणका लागिसमेत जोडदार माग गरेको छ । “प्रदेश कानुनमा समावेश भएका र समावेश हुने सजायसम्बन्धी अनुसन्धान र अभियोजनलगायतका काम मुख्य न्यायाधिवक्ताको कार्यालयले गर्ने गरी संविधान संशोधन र आवश्यक कानुन निर्माणका लागि जोड्दार माग गर्दछौँ”, घोषणापत्रमा भनिएको छ ।

त्यसैगरी प्रदेश ‘प्रोवेशन’ तथा ‘प्यारोल बोर्ड’लगायतका कानुनी प्रावधानको कार्यान्वयनका लागि नियमावलीलगायत आवश्यक कानुन तत्काल निर्माण गर्न सरोकारवाला सबै पक्षसँग आग्रह गरिएको छ ।

सम्मेलनमार्फत मुख्य न्यायाधिवक्ताले नेपालको संविधान, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा शर्तसम्बन्धी ऐन र मुलुकी फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वय ऐनमा भएका कानुनी व्यवस्थाबमोजिमका अधिकार सङ्घीयताको मर्म र भावनाअनुरुप नै प्रदेशमा एकरुपता कायम गर्ने गरी कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत जाहेर गर्नुभएको छ ।

“सम्मेलन सङ्घीयताको मर्म र भावनाअनुरुप नै प्रदेशमा एकरुपता कायम गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ”, अगाडि भनिएको छ, “अदालतबाट भएका फैसला कार्यान्वयनका लागि जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयलगायत सम्बद्ध कार्यालयसँग समन्वय गरी कानुनी शासनलाई थप सुदृढ बनाउन यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ ।”

सम्मेलनले प्रदेशमा कानुन निर्माण गरी शान्ति सुरक्षालाई थप सुदृढ गर्न र प्रदेशको भूमिकालाई प्रभावकारी बनाउन भूमिका खेल्ने पनि प्रतिबद्धता व्यक्त गरेको छ ।

त्यसैगरी सम्मेलनले मुख्य न्यायाधिवक्ताको कार्यालयमा रहने न्यायाधिवक्तालगायतका कर्मचारीको व्यवस्थापन महान्यायाधिवक्ताको कार्यालयले गर्ने व्यवस्था भएकामा प्रदेश लोकसेवा आयोगमार्फत प्रदेशमै सो अधिकार प्रयोग गर्ने गरी संविधान संशोधनका लागि सरोकारवाला पक्षसँग माग गरेको छ ।

यसका अतिरिक्त सातै प्रदेशमा रहेका बालसुधारगृह बालमैत्री नभएको, क्षमताभन्दा बढी बालबालिका राखिएको, आवश्यकता अनुसारको शिक्षा आर्जन गर्ने उपयुक्त वातावरण नभएकाले बालसुधार गृहमा बालबालिकाको मानवअधिकारको संरक्षण गर्न सम्बन्धित निकायलाई आह्वान गरिएको छ ।

राससका अनुसार यसअघि यही असार १५ र १६ गते पोखरामा सम्पन्न मुख्यमन्त्रीको राष्ट्रिय भेलाबाट पारित घोषणापत्र र अन्तरप्रदेश समन्वय परिषद्को बैठकबाट भएका निर्णयप्रति पूर्ण ऐक्यबद्धता प्रकट गर्दै ती निर्णय तत्काल कार्यान्वयन गर्न पनि सम्मेलनले आग्रह गरेको मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले जानकारी दिनुभयो ।

सम्मेलनमा कोशीबाहेक छ प्रदेशका मुख्य न्यायाधिवक्ता क्रमशः मधेस प्रदेशबाट वीरेन्द्रकुमार ठाकुर, सुदूरपश्चिमबाट कुलानन्द उपाध्याय, कर्णालीबाट नरबहादुर खड्का, लुम्बिनीबाट प्रा डा बुद्धबहादुर थापा क्षेत्री, गण्डकीबाट चिरञ्जीवी शर्मा पौडेल र बागमतीबाट ज्ञानेन्द्र नेपाल सहभागी हुनुहुन्थ्यो ।

Facebook Comments